काठमाडौँ– काठमाडौँ महानगरभित्रका विभिन्न स्थानको फोहोर उठाउन ढिलाइ भएको जनगुनासो आइरहँदा महानगरले भने कर्मचारीको अभावमा समयमै फोहोर व्यवस्थापन गर्न नसकिएको जनाएको छ।
फोहोर व्यवस्थापन गर्न काठमाडौँ महानगर प्रतिबद्ध रहे पनि कर्मचारीको अभावका कारण योजना बमोजिम काम हुन नसकेको महानगरका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठ बताउँछन्।
उनले कर्मचारी अभावका कारण सडकमा फालिएका र घरबाट निस्कने फोहोर बिहान ७ बजे भन्दा अगाडि नै उठाउने महानगरको योजना कार्यान्वयनमा ल्याउन नसकिएको बताए।
हाकाहाकीसँग कुरा गर्दै उनले भने, ‘जति सक्दो छिटो फोहोर उठाउन खोजिरहेका छौँ, तर कर्मचारीको अभावमा समयमै काम हुन सकेको छैन्।’
महानगरभित्रको फोहोर उठाउन कम्तीमा पनि एक हजार भन्दा बढी कर्मचारी आवश्यक पर्नेमा हाल ६ सय मात्र भएकाले भनेको समयभित्र फोहोर व्यवस्थापन हुन नसकेको उनको भनाइ छ।
उपत्यकाबाट दैनिक करीब १ हजार २ सय मेट्रिक टन फोहोर निस्कने र त्यसकोे करिब ७५ प्रतिशत फोहोर नुवाकोटको सिसडोलमा व्यवस्थापन गरिँदै आएको उनले जनाए।
महानगरले प्रायः भिआइपीको क्षेत्रमा मात्र समयमा फोहोर उठाउने गरेको आरोप लागिरहेको छ नि भन्ने प्रश्नमा उनी भन्छन्, ‘कसिंगर मुक्त महानगर बनाउने महानगरको मुख्य योजना भएकाले हामीले सबै ठाउँमा फोहोर उठाउने कार्यलाई तीव्रता दिएका छौँ।’
हाल महानगरले फोहोर व्यवस्थापनलाई सहज बनाउन घर–घरमै फोहोर व्यवस्थापन गर्ने नीति बनाएको र सोही अनुसार कार्य सञ्चालन भइरहेकोे श्रेष्ठले जनाए। योसँगै अब सडकमा फोहोर फलिएको पाइएमा ५ हजारदेखि १ लाख जरिवाना हुने उनी बताउँछन्।
यसअघि महानगरले गतवर्ष विहान ७ बजेसम्ममा सबै स्थानको फोहोर उठाइसक्नुपर्ने नियम ल्याएको थियो।





