खोलाको पानी खेतसम्म, किसान खुसी

डोटी– बडिकेदार गाउँपालिका वडा नम्बर ३ मा पर्ने बेबरा र गाजरी गाउँ सरमुकाम दिपायलको दक्षिणपूर्वी सीमाका अन्तिम गाउँ हुन्। यी गाउँको दक्षिणमा कैलाली र पूर्वमा सुर्खेत जिल्ला पर्छन्। कैलाली जिल्लालाई ठुलीगाड नदीले छुट्टाएको छ, भने सुर्खेतलाई कर्णाली नदीले। गाउँ नजिकै ठूलीगाड नदी कर्णाली नदीमा मिसिन्छ। तर, यहाँ नदीको कटान भने डरलाग्दो छ। हजारौँ हेक्टर खेतीयोग्य जमिन नदीले काटिसकेको छ। स्थानीय बाँकी रहेको जमिनमा मेहनत गरिरहेका छन्। नजिकै गोडे खोला छ। यही खोलाको पानी कुलो बनाएर खेतसम्म लगिएको छ। यो सुविधा पुगेपछि किसान खुसी छन्।

‘कुलो आएपछि सजिलै भाछ, कुलो आएपछि समयमै बिऊ राख्ने, खेत रोप्नेदेखि लिएर गहुँमा सिँचाइ गर्न पाएका छौँ जसले गर्दा राम्रै उत्पादन भइराछ,’ बडिकेदार गाउँपालिका वडा नम्बर ३ बेबराका जितबहादुर बोहोराले भने।

गाउँसम्म पानी पुर्‍याउने काम २०५२ सालबाट सुरु भयो। त्यस बेलादेखि अहिलेसम्म साबिकको गाविस कार्यालय घागल, लिली, हेल्भेटास नेपाल, आरसिडिसी र बडिकेदार गाउँपालिकाले आर्थिक सहयोग गरेका छन्। कुलाका लागि अहिलेसम्म १६ लाख ४० हजार खर्च भइसकेको छ।

‘कुलो आउनुभन्दा पहिला यहाँ अन्न उब्जनीमा कमी थियो। कुलो आइसकेपछि बिगतभन्दा बढी अन्न उत्पादन भएको छ साथै तरकारी खेतीमा पनि राम्रो सघाउ पुगेको छ,’ बडिकेदार गाउँपालिका वडा नम्बर ३ बेबराका डम्बर रोकामगरले भने।खकुलो हुँदा पहिलेको तुलनामा खेती गर्न सहज भएको स्थानीय जितबहादुर बोहोरा बताउँछन्। तरकारी खान पाएका छौँ। अब पहिला सिँचाइ नहुँदाको अवस्थाभन्दा धेरै फरक छ।

गोडे खोलाबाट १ किलोमिटरसम्म पक्की कुलो बनिसकेको छ। अब बाँकी २ किलो मिटरसम्म पनि पुर्‍याउन प्रयास भइरहेको छ। अहिले गाजरी र बेबराका स्थानीयले १५ हेक्टरमा सिँचाइ सुविधा पाएका छन्। अब बाँकी जमीनमा पनि सिँचाइ पुग्ने गरी योजना बनाइएको छ। यसमा स्थानीय तहले पनि सहयोग गरिरहको छ।

‘बेबराको कुलोलाई पोहोर साल पाँच लाख रुपैयाँ हालेका थियौँ। पहिलो नम्बरमै छ बेबराको कुलो,’ बडिकेदार गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष लिलाधर सापकोटाले भने। यही कुलोका कारण किसानका करेसाबारीमा सुख्खा मौसममा पनि हरियाली छाएको छ। बारीमा टमाटर, प्याज, साग, फर्सीजस्ता तरकारीहरू फलेका छन्। हिजो कुलो नहँुदा यो सम्भव थिएन। आज किसानले हरियो तरकारी आफ्नै बारीमा बाह्रै मास फलाएका छन्।

यति बेला भने किसानले हिउँदे बाली भित्राइसके। अब बर्खे बाली अर्थात् धान रोप्ने तयारी गर्दैछन्। किसानले खेतमा मल राखिसके। कतिपयले त खेत पनि जोतिसके। यी खेतहरूमा पानीको सहज वितरणका लागि सक्रिय छिन् बेबरा गाजरी सिँचाइ कुलो उपभोक्ता समितिकी कोषाध्यक्ष अम्बिसरा पुन मगर। उनी पानी व्यवस्थापनमा समुदायलाई सक्रिय बनाउने काममा लागेको १० वर्ष भयो।

स्थानीयले बेला बेलामा कुलो वरिपरिको झाडी सरसफाइ गर्दे आएका छन्। विशेषगरी हिउँदे बाली र बर्खे बाली लगाउनुभन्दा पहिला स्थानीयहरू कुलो सफा गर्छन्।

‘पानीको पैसा लिने चलन छैन, मिलेर काम गर्छौँ। मान्छे भएनन् भने गुहार मागेर भए पनि काम गर्ने चलन छ। कुलो खन्ने बेला घरैपिच्छेका प्रतिनिधि आउने चलन छ। मौसमअनुसारको काम गर्छौँ,’ गाजरी बेबरा सिँचाइ कुलो उपभोक्ता समितिका कोषाध्यक्ष अम्बिसरा पुनमगरले भनिन्, ‘कुलोलाई अझै अगाडि बढाएर यस क्षेत्रलाई नमूनाको रूपमा चिनाउने तरकारी र अन्न बाली सबैमा पर्याप्त पानी पुर्‍याउने लक्ष्य छ।’ पानीको मुहान संरक्षणका लागि यहाँका किसानहरूले रुख रोप्ने, आगो नलगाउने जस्ता काम पनि गर्दै आएका छन्। सिँचाइ नहुँदा विगतमा यहाँका स्थानीयले दुःख पाएका थिए।

आकाशे पानीको मात्र भर पर्नु पर्दथ्यो। तर, यो सिँचाइ स्थानीयका लागि समृद्धिको आधार बनेको छ। कतिपय ठाउँमा ठूलो लगानीमा निर्माण भएका नहर पहिनीकोे मर्मत सम्भार नहुँदा अलपत्र छन् । तर, गाजरी र बेबराका स्थानीयले सिँचाइ कुलोको मर्मत सम्भार गरेर उत्पादन बढाइरहेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार