काठमाडौँ– काठमाडौँ महानगरपालिकले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममा पूर्वाधार विकास, सहरी सुन्दरता र सरसफाइलाई प्राथमिकतामा राखेको छ।
मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित महानगरको ५ औं सभाको दोश्रो बैठकमा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँको आय–व्यय प्रस्ताव गर्दै पूर्वाधार विकास, सहरी सुन्दरता र सरसफाइलाई प्राथमिकतामा राखिएको जानकारी दिएका हुन्।
प्रस्तावित विनियोजन विधेयकमा सबैभन्दा बढी पूर्वाधार विकासका लागि रकम छुट्याइएको प्रमुख शाक्यले बताए। कुल बजेटको ३९ प्रतिशत अर्थात् ५ अर्ब ९८ करोड ३० लाख २४ हजार रुपैयाँ यस क्षेत्रका लागि विनियोजित भएको छ। उर्जा, भवन तथा सहरी विकास, वैकल्पिक उर्जा र सञ्चार, सडक तथा अन्य पूर्वाधारका क्षेत्रहरू यसमा समेटिएका छन्।
त्यसैगरी, खानेपानी तथा सरसफाई, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, शिक्षा, स्वास्थ्य र संस्कृति प्रबर्धनका कार्यक्रमहरू समेटिएको सामाजिक विकास क्षेत्रमा ३ अर्ब ७२ करोड १५ लाख ४९ हजार बजेट विनियोजन भएको छ। यो रकम कुल बजेटको २४ प्रतिशत रहेको प्रमुख शाक्यले जनाए।
वातावरण तथा विपद व्यवस्थापनतर्फ वातावरण संरक्षण, जलवायु परिवर्तन, फोहोरमैला व्यवस्थापन, ल्याण्डफिल्ड साईटको व्यवस्थापन, वन तथा भू–संरक्षण, बारुणयन्त्र सञ्चालन र विपद व्यवस्थापनका लागि ३९ करोड १५ लाख ४५ हजार रुपैयाँ प्रस्ताव गरिएको छ।





