विज्ञ भन्छन् – शिवपुरी उपत्यकाको ‘लाइफलाइन’, पूर्वाधार निर्माणले जैविक विविधतामा गम्भीर असर

काठमाडौँ – शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र केबलकार, रिसोर्ट लगायतका अन्य पूर्वाधार निर्माण गरिएमा त्यहाँको जैविक विविधतामा गम्भीर असर पुग्ने संरक्षणकर्मीले बताएका छन्।

शिवपुरी नागार्जुनको वन्यजन्तु तथा जैविक विविधता रहेको मुख्य क्षेत्रमै केबलकार सञ्चालन गर्न केही व्यक्तिले लविङ गर्न थालेपछि संरक्षणकर्मीले त्यसको चर्को विरोध समेत गरेका छन्। पूर्वाधार निर्माणले त्यहाँको वातावरणमा गम्भीर असर पर्ने भएकाले अनुमति दिन नहुने उनीहरूको भनाई छ। नागार्जुन उपत्यकाको नै ‘लाइफलाइन’ भएकाले यसको संरक्षण गर्नुपर्ने वातावरणविद प्रा.डा.मदन कोइराला बताउँछन्। वायू प्रदूषणका कै कारण उपत्यकाबासीको औसत आयु ५ वर्ष घटेको एक अध्ययनले देखाएको कोइरालाले बताए।

नेपालको जनसाङ्ख्यिक सूचकाङ्कका आधारमा नेपालीको औसत आयु बढे पनि वायुप्रदूषणका कारण ५ वर्ष आयु घटदै गएको अध्ययनले देखाएको छ। यस्तो अवस्थामा उपत्यकामा स्वच्छ हावा र सफा शुद्ध खानेपानीका लागि शिवपुरी नार्गाजुन क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्ने गरेको वातावरणविदको भनाई छ। यो महत्त्वपूर्ण पारिस्थितिकीय प्रणााली भएको क्षेत्र पनि हो। केबलकार परियोजना निकुञ्ज क्षेत्रमा निर्माण गर्न दिने हो भने आर्थिक सूचकका हिसाबले पनि ठूलो नोक्सानी नै हुने विज्ञ बताउँछन्। पुँजीगत लाभका हिसाबले केही फाइदा भए पनि, वातावरणका हिसाबले लाभ हुँदैन । अर्थात, प्रत्यक्ष लाभ भनेको पैसा मात्र होइन्। अप्रत्यक्ष रूपमा लाभ दिने हावा पानी र स्वास्थ्यको कुरा गर्ने हो भने केबलकार निर्माणले लाभभन्दा नोक्सानी धेरै हुने उनको दाबी छ।

निकुञ्जभित्र केबलकार बनाउन दिन नहुने तर सरकारले यसलाई दिने प्रयास गरे पनि वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन (ईआईए) नगरिकन स्वीकृति दिन नहुने निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जा पुनले हाकाहाकीलाई बताए। यस क्षेत्रमा ३ वटा केबलकार र रिसोर्टसहितका नाफामूलक परियोजनाका लागि व्यवसायीले लबिङ् तीव्र पारेका छन्।

गोकर्णेश्वर नगपालिकाको जगडोलस्थित सहिदपार्कदेखि शिवपुरी निकुञ्जको मुलाबारी, बूढानीलकण्ठदेखि शिवपुरीको टुप्पो (डाँडा) र नागार्जुन नगरपालिकाको रानीवनदेखि नागार्जुनको उच्च स्थान जामाचोसम्म केबलकारसहित रिसोर्टलगायत परियोजना सञ्चालनका लागि व्यवसायी, लगानीकर्ता र केही नेताहरूसमेत लागिपरेका छन्।

शिवपुरी इकोटुरिजम एण्ड केबलकार लिमिटेडले गोकर्णेश्वर नगरपालिकाको सहिदपार्कबाट शिवपुरी–नागार्जुन निकुञ्जभित्रको मुलाबारीसम्म ३.६ किलोमिटर लम्बाइको केबलकार बनाउन वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन (ईआईए) का लागि वन तथा वातावरण मन्त्रालयसँग स्वीकृति माग गरेको छ । यो लबिङ् २०७२ सालको भूकम्प गएपछि नै सुरु भएको हो।

उपल्लो तटीय क्षेत्रमा  वन विनाश भएमा तल्लो तटीय क्षेत्रमा बाढी पहिरोजस्ता प्राकृतिक प्रकोप बढ्छ

काठमाडौँ उपत्यकाको खानेपानीको स्रोत भनेकै शिवपुरी निकुञ्ज हो । यदी केबुलकार सञ्चालन गर्न दिने हो भने खानेपानीका स्रोत तथा मुहानहरू सुक्ने छन् । परिणाम स्वरुप उपत्यकामा खानेपानी समस्याले अझै विकराल रूप लिनेतर्फ उनले सङ्केत गरे।

केयुकेएल र विभिन्न खानेपानी उपभोक्ता समूहले शिवपुरी नार्गाजुन क्षेत्रबाट दैनिक ५ करोड लिटर खानेपानी झिकिरहेका छन्। खासगरी केयुकेएलले ३ करोड र उपभोक्ता समितिले २ करोड गरी यो क्षेत्रबाट ५ करोड लिटर पानी प्रयोग भइरहेको छ।

यदी यसरी नै पानी प्रयोग भइरहने तथा भूमिगत जलभण्डार सञ्चित नगर्ने हो भने उपत्यकामा पानीको सङ्कट हुने र उपत्यका भासिने खतरा रहेको निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव कमलजङ्ग कुँवरले बताए।

यसले खानेपानी आपूर्तिमा समस्या आउने भएकाले यसलाई रोक लगाउँदै आए पनि व्यवसायीहरू अझै त्यसका पछि लागिरहेका छन्। बेलाबेलामा महोत्सव स्थलका रूपमा, खेलकुद मैदान निर्माण गर्नेदेखि सडक निर्माणका नामसँगै अन्य विभिन्न शीर्षकमा शिवपुरीलाई मास्न बेलाबेलामा गिद्धे नजर पर्ने गरेको छ।

विशेषगरी यो निकुञ्ज नेपालको महत्त्वपूर्ण २० वटा संरक्षित स्थलमध्ये एक हो। अधिकांश संरक्षित स्थल हिमाल र तराईमा छन् तर यो निकुञ्ज भने मध्यपहाडमा छ। मध्यपहाडमा रहेको यो एक मात्र निकुञ्ज हो। मध्यपहाड जैविक विविधताको प्रचूर भण्डारले भरिपूर्ण स्थान हो।

शिवपुरी उपत्यकाका चार नदीको मुहान पनि हो। शिवपुरीको पूर्वमा बाग्मती, दक्षिणमा रुद्रमति र धोबीखोला पश्चिममा विष्णुमति बग्ने गरेका छन् । यी चार नदीले उपत्यकाको जल भण्डारमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। त्यसैले शिवपुरी र नागार्जुन उपत्यकाको पानीका लागि बरदान स्थल हो।

यति मात्र होइन्, यो महत्त्वपूर्ण जैविक विविधताको भण्डार हो। यसले मध्यपहाडको जैविक विविधताको प्रतिनिधित्व गरेको छ। वाग्मती विष्णुमति लगायतका नदीको जलाधार क्षेत्र पनि हो, साथै उपत्यकाका लागि जीवन आधार पनि हो। यसले स्वच्छ हावासँगै स्वच्छ पानी त दिन्छ नै सँगै वातावरणीय सन्तुलन पनि कायम गरेको छ।

शिवपुरीको जलभण्डार जसलाई वाटर टावरका रूपमा लिइन्छ। २००७ सालदेखि २०३२ सालमा वन विनाश अत्यधिक हुँदा ३२ सालमा जलाधार क्षेत्रका रूपमा यसलाई संरक्षण गर्न थालिएको हो। केबलकार यदी यस क्षेत्रमा सञ्चालन भएमा यहाँ अधिक मात्रामा वन विनाश हुनेछ साथै वाटर टावरको संज्ञा दिइएको यो क्षेत्रमा बाढी पहिरो आउने, जैविक विविधता नाश हुने सँगै जीवजन्तु र पंक्षीको नाश हुनेछ।

साथै, उपल्लो तटीय क्षेत्रमा पहिरो आएर वन विनाश भएमा तल्लो तटीय क्षेत्रमा बाढी पहिरोजस्ता प्राकृतिक प्रकोप बढ्ने जसले गर्दा ठूलो जनधनको क्षति हुने विभागका उपसचिव कुँवरले ठोकुवा गरे ।

सम्बन्धित समाचार
जंगलमा पूर्वाधार : सुनको गजुर मासेर गहना निर्माण

ताजा समाचार

सम्बन्धित समाचार