वनका कर्मचारीकै मिलेमतोमा रुख कटान

महेन्द्रनगर – कञ्चनपुरको लालझाडी गाउँपालिकाको एक सामुदायिक वनमा वन कर्मचारी र सामुदायिक वनका पदाधिकारीको मिलेमतोमा वन फाँडानी भएको पाइएको छ।

लालझाडी गाउँपालिका–५ को अपि सामुदायिक वनमा वनका पदाधिकारी र वन कर्मचारीको मिलोमतोमा छपान नगरिएका सालका रुख काटिएका हुन्। सामुदायिक वनका पदाधिकारी र लालझाडी सव डिभिजन वन कार्यालय अन्तर्गतको देखभुली पोष्टका कर्मचारीको मिलेमतोमा उक्ता वन फाँडानी भइरहेको लालझाडी गाउँपालिका–५ का वडा सदस्य बिरबहादुर विष्टले बताए।

वनका पदाधिकारीले कुनै पनि निकायसँग समन्वय नगरी रुख काटेको पाइयो, ‘वनमा के कति रुख काटियो ? त्यसको यकीन भएको छैन्।’

सामुदायिक वनमा काटिएका सालका गोलिया

उनका अनुसार सामुदायिक वनका पदाधिकारी र वन कर्मचारीको मिलेमतोमा ठूलो संख्यामा सालका रुख काटिएका छन्। ‘काटिएको अवस्थामा १५ सालका गोलिया वनमा भेटिएका छन्, वनमा ठूलो मात्रामा काठ काटिएको छ, वनका कर्मचारी र पदाधिकारीको मिलेमतोमा रुख काटिएका हुन्,’ उनले भने, ‘यो सामुदायिक वनमा समय समयमा काठको तस्करी भइरहेको हुन्छ, संरक्षणकर्मीकै मिलोमतोमा काठ तस्करी हुनु दुःखद हो ।’ वनका पदाधिकारीले डिभिजन वन कार्यालय कञ्चनपुरसँग समेत समन्वय नगरी रुख काटेको पाइएको लालझाडी गाउँपालिका–५का अध्यक्ष नन्दराज जोशीले बताए।

‘वनका पदाधिकारीले कुनै पनि निकायसँग समन्वय नगरी रुख काटेको पाइयो,’ उनले भने, ‘वनमा के कति रुख काटियो ? त्यसको यकीन भएको छैन्।’ सामुदायिक वनमा रुख काटिएको विषयमा लालझाडी गाउँपालिकाले चासो दिएको वडा अध्यक्ष जोशीले बताए। ‘गाउँपालिकाको टोलीले सोमबार वनको अनुगमन गर्छ, दोषीलाई डिभिजन वन कार्यालयले कारबाही गर्नुपर्छ,’ उनले भने। सामुदायिक वनमा सालका रुख काटिएको जानकारी पाउँदा समेत वनका कर्मचारीले चासो नदिएको सामुदायिक वनका उपभोक्ता तथा कृष्णपुर नगरपालिका–३ का वडा सदस्य जहरसिंह कुँवरले बताए।

‘सामुदायिक वनमा रुख काटिएको विषयमा देखतभुली पोष्टका वन कर्मचारीलाई जानकारी थियो,’ उनले भने, ‘रुख काटिएको विषयमा वनका कर्मचारीले कुनै चासो दिएनन्, यसले पनि कर्मचारीको मिलेमतो प्रष्ट हुन्छ ।’ वनका कर्मचारीले सामुदायिक वनमा रुख काटिएको जानकारी पाएपनि अनुगमन समेत नगरेको सामुदायिक वनका पूर्व अध्यक्ष जगन्नाथ केसी बताउँछन्।

‘रुख काटिएको विषयमा उपभोक्ताले आइतबार वन कर्मचारीलाई जानकारी दिए, जानकारी दिएर बलाउँदा समेत आएनन्,’ उनले भने । रुख काटिएको विषयमा समिति गठन गरेर अनुसन्धान तथा छानविन हुनुपर्ने उनको भनाइ छ । ‘यो घटनाको सत्य तथ्य छानविन हुनु पर्छ,’ उनले भने, ‘जनप्रतिनिधि सहितको समिति गठन गरेर यसको छानविन गर्नुपर्छ, दोषीलाई कारबाही गरिनुपर्छ।’ हावाहुरी पीडितलाई वितरण गर्नको लागि हावाहुरीले ढलाएका रुख काटिएको अपि सामुदायिक वनका अध्यक्ष मदन नाथको तर्क छ।

‘हावाहुरी पीडितलाई वितरणका लागि साना सालका बल्ली काटेका हौं, ठूला रुख काटिएको छैन्, १५ बल्ली काटेका हौं,’ उनले भने । सामुदायिक वनका पदाधिकारीसँग आफुहरूको कुनै मिलेमतो नरहेको लालझाडी सव डिभिजन वन कार्यालय अन्तर्गतको देखभुली पोष्टका रेन्जर जीवन भण्डारीले बताए।

‘रुख काट्ने कार्यमा हाम्रो कुनै संलग्नता छैन्, रुख काटिएको स्थानमा पुग्न केही ढिलाई भयो, समयमा त्यहाँ नपुग्दा उपभोक्ताले आरोप लगाएका हुन्,’ उनले भने,‘मछेलि खोला १ गोलया काठ बेवारिसे अवस्थामा भेटिएको थियो, त्यसको मुचल्का बनाउँदा ढिलो भयो, त्यसैले समयमा पुग्न सकेनौं।’ रुख काटिएको विषयमा छानविन तथा अनुसन्धान गरिने डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन वन अधिकृत अजय बिक्रम मान्नधरले जनाए । ‘यस विषयमा अनुसन्धान गर्छौ, वनका पदाधिकारी र कर्मचारीको मिलेमतोमा रुख काटिएको भए कारबाही हुन्छ,’ उनले भने । सामुदायिक वनमा काटिएको काठको बरामद सोमबार गरिने उनले बताए । ‘सोमबार वनमा अनुगमन पनि गर्छौ, काटिएको काठ पनि बरामद गर्छौ,’ उनले भने । वन कर्मचारी र पदाधिकारीको मिलेमतोमा सालका रुख काटिएको भन्दै स्थानीय आन्दोलित भएका छन्। स्थानीयले रुख काटिएको विषयमा सत्यतथ्य छानिविन हुनुपर्ने माग गरेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार