कैलाली– धनगढी उपमहानगरपालिका वडा नम्बर १४ की मञ्जु परियार हावाहुरीबाट घरबारविहीन भएपछि अहिले छिमेकीको घरमा बस्दै आएकी छिन्।
‘छोरा छोरी सानै छन् । म पनि अपाङ्ग छु। श्रीमान्को तलबले घर मर्मत गर्न सक्ने अवस्था छैन। योे घर कसरी बनाउने होला ?’
जेठ २३ गते आएको विनाशकारी हावाहुरीले उडाएको टिनको छानो र ढालेको घर देखाउँदै मञ्जुले भनिन्, ‘भारतको कोठीमा भाँडा माझेर भर्खरै टाउको छोप्न टिनको छानो हालेर घर बनाएकी थिएँ। बस्न नपाउँदै हावाहुरीले भत्कायो। कमाएको पैसा यही घर बनाउनमा खर्च भइसकेको थियो । अब यसलाई कसरी मर्मत गर्ने होला ?’ उनले वडा कार्यालयबाट एउटा त्रिपाल पाएकी छन्। उनी प्रश्न गर्छिन्, ‘त्यसलाई कहाँ लगाएर बस्ने?’

धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की धनादेवी नेपालीलाई पनि अहिले कसरी घर बनाउने भन्ने चिन्ता छ। ‘टाउको छोप्ने यो सानो घर हावाहुरीले बिगार्यो’ उनले भनिन्, ‘विनाशकारी हावाहुरीले छानो उडायो । त्यसपछि आएको हावाहुरीसहितको वर्षाले घरमा भएको खाद्यान्न पनि नोक्सान गर्यो।’
धनाका श्रीमान् भारतमा काम गर्दै आएका छन्। उनका दुई छोरी र एक छोरा छन् । ‘छोरा छोरी सानै छन् । म पनि अपाङ्ग छु। श्रीमान्को तलबले घर मर्मत गर्न सक्ने अवस्था छैन। योे घर कसरी बनाउने होला ?’ उनले हावाहुरीपछि त्रिपाल र खाद्यान्नबाहेक अरू केही नपाएको गुनासो गरिन् ।
‘घरमा खानलाई खाद्यान्न छैन’ उनले भनिन्, ‘वडा कार्यालयले एउटा त्रिपाल, पाँच किलो दाल, पाँच किलो चामल र एक किलो तेल दिएको थियो। तर त्यो त्रिपालले घरको छानो पुरै छोप्न नसकेकाले दिनभरि घरमा बसे पनि राती छिमेकीको घरमा सुत्न जाने गरेकी छु ।’
धनगढी उपमहानगरपालिका वडा नम्बर १० की एकल महिला अनारकली रानाको घर हावाहुरीले पूर्ण क्षति गरेको छ। उनी पनि घर बनाउन नसक्दा छिमेकीको घरमा बस्दै आएकी छन्। ‘घरमा कमाउने कोही छैन । दुबै छोरा सानै छन् । म एकल महिलाले कसरी घर बनाउने ?’

जिल्ला प्रशासन कार्यालय, कैलाली र नेपाल रेडक्रस सोसाइटीबाट सो वडामा ७० थान त्रिपाल प्रदान गरिएको थियो। तर, ती त्रिपाल पनि पीडितसम्म पुग्न नसकेको पीडितहरूको गुनासो छ। वडा नम्बर १० की कल्पना पौडेलले भनिन्, ‘यस वडाका एक सय ४५ घरमा पूर्णरूपमा क्षति पुगेको छ । ७० वटा त्रिपाल कसलाई दिने र कसलाई नदिने भनेर अहिलेसम्म वडा कार्यालयमै थन्किएका छन्।’ कल्पनाले थपिन्, ‘वर्षा सुरु भइसकेको छ। यस वडाका अधिकांश घरको छत हावाहुरीले उडाएको छ। पानी परे खाद्यान्न तथा लत्ता कपडाको सुरक्षा गर्न समस्या हुन्छ ।’
२३ गतेको विनाशकारी हावाहुरीका कारण धनगढी उपमहानगरपालिका, गोदावरी, गौरिगंगा, घोडाघोडी, लम्की, भजनी र टीकापुर नगरपालिका, कैलारी, जोशीपुर, बर्दगोरिया र जानकी गाउँपालिका प्रभावित भएका थिए । जिल्ला प्रशासन कार्यालय, जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र, कैलालीका अनुसार जिल्ला प्रशासन कार्यालय र सम्बन्धित स्थानीय तहबाट तीन हजार सात सय २६ त्रिपाल र १७ लाख ७६ हजार पाँच सय रुपैयाँ वितरण गरिएको छ । त्यस्तै रोटरी क्लब अफ नेपालबाट ६८ थान जस्तापाता र मर्सिकोर नेपालबाट चार सेल्टर किट धनगढी उपमहानगरपालिकामा वितरण गरिएको जनाएको छ ।
राहत घोषणा, तर वितरण भएन
धनगढी उपमहानगरपालिकाको जेठ ३० को बैठकले हावाहुरीबाट क्षति पुगेका घरधनीलाई क्षतिको आधारमा राहत दिने निर्णय गरेको छ। उपमहानगरपालिकाले हावाहुरीबाट घर पूर्ण रूपमा क्षति भएका परिवारलाई छ हजार, मध्यम क्षति भएकालाई तीन हजार, पशुपंक्षीमा भएको क्षतिलाई तीन हजार र व्यवसायिक खेतीमा तीन हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो। घर पूर्णरूपमा क्षति पुगेको ९० दिनकी सुत्केरी महिलालाई एक हजार पाँच सय रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो। तर हावाहुरी पीडितसमक्ष भने सो राहत रकम पुग्न सकेको छैन।
धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले अहिले वडा कार्यालयमा विनाशकारी हावाहुरीले पुर्याएको क्षतिको विवरण सङ्कलन भइरहेको बताए। उनले भने, ‘वडा कार्यालयहरूबाट क्षतिको पूर्ण विवरण आई नसकेकाले राहत रकम बाँड्ने काम अघि बढेको छैन ।’ उनले क्षतिको विवरण थपिँदै गएको बताए ।
त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सरकार गठन भएयता विपदमा परी ज्यान गुमाएका परिवारलाई एक लाख ५० हजार राहत रकम उपलब्ध गराउने, कैलाली कञ्चनपुरमा आएको हावाहुरीका कारण घर पूर्णरूपमा क्षति भएका परिवारलाई २० हजार रुपैयाँ र आंशिक क्षति भएकालाई १० हजार रुपैयाँ छुट्टै उपलब्ध गराउने निर्णय गरेको थियो । प्रदेश सरकार गठन भएयता हावाहुरी, बाढी, चट्याङ, पहिरो लगायतका विपदमा परी ३८ जनाको मृत्यु भएको छ ।
प्रदेश सरकारले घोषणा गरेको राहत रकम पनि पीडितसमक्ष पुग्न सकेको छैन । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट पाँच करोड रकम निकासाका लागि अनुरोध पठाइएको बताए । ‘अर्थ मन्त्रालयबाट रकम निकासा भएर आएपछि जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गरिने छ’ उनले भने ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार २३ गतेको विनाशकारी हावाहुरीबाट एक जनाको मृत्यु, एक जनाको मोटरसाइकल दुर्घटनाबाट मृत्यु र एक सय जना घाइते भएका थिए ।
कैलालीमा हावाहुरीले दुई हजार दुई सय १६ घर पूर्णरूपमा क्षति भएका छन् । जिल्लामा सात हजार आठ सय ४४ घर प्रभावित भएको प्रशासन कार्यालयको तथ्याङ्कमा रहेको छ ।
चार स्थानीय तहले पीडितलाई दिए राहत रकम
कैलाली जिल्लाका चार वटा स्थानीय तहले आफ्नै श्रोतबाट हावाहुरी पीडितलाई राहत रकम उपलब्ध गराएका छन् । जिल्लाको टीकापुर, भजनी, घोडाघोडी र गोदावरी नगरपालिकाले आफ्नै श्रोतबाट हावाहुरी पीडितलाई राहत रकम उपलब्ध गराएका हुन् ।
टीकापुर नगरपालिकाले हावाहुरीबाट ज्यान गुमाएका लहानु चौधरीकी श्रीमतीलाई ५० हजार नगद हस्तान्तरण गरेको थियो । भजनी नगरपालिकाले पूर्णरूपमा क्षति भएकालाई पाँच हजार र आंशिक क्षति भएका घरपरिवारलाई चार हजारका दरले ५४ हजार राहत रकम ११ जना पीडितलाई उपलब्ध गराएको जनाएको छ । कैलालीको घोडाघोडी नगरपालिकाले ९६ पीडित परिवारलाई तीन लाख ७४ हजार राहत रकम वितरण गरेको छ भने गोदावरी नगरपालिकाले ११ लाख ७३ हजार पाँच सय राहत रकम आफ्नै श्रोतबाट उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
मृतकका आफन्तलाई राहत
विनाशकारी हावाहुरीबाट मृत्यु भएका लहानु चौधरीका आफन्तलाई जिल्ला प्रशासन कार्यालय र टीकापुर नगरपालिकाले राहत उपलब्ध गराएको छ । टीकापुर नगरपालिकाले २५ हजार र जिल्ला प्रशासन कार्यालय कैलालीले एक लाख राहत रकम लहानुकी श्रीमतीलाई हस्तान्तरण गरेको जिल्ला आपतकालीन केन्द्रले जनाएको छ। त्यस्तै हावाहुरीकै कारण मोटरसाइकल दुर्घटनाबाट ज्यान गुमाएका वीरबहादुर चौधरीलाई बीमा कम्पनीले ५० हजार क्रिया खर्च उपलब्ध गराएको छ। आपतकालीन केन्द्रका अनुसार बाँकी चार लाख ५० हजार रुपैयाँ लिने प्रक्रियामा रहेको छ ।
गैर आवासीय नेपाली लगायतको सहयोग
जेठ २३ गते आएको हावाहुरी पीडितका लागि गैर आवासीय नेपाली संघलगायतले छ लाख ९ हजार रुपैयाँ राहत रकम सहयोग गरेका छन् । धनगढी नगरस्तरीय विपद व्यवस्थापन समितिको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय धनगढीमा गैर आवासीय नेपाली संघले पाँचलाख रुपैयाँ जम्मा गरेको छ । त्यसै गरी सिएक्स ईन्डष्ट्रीयल सर्भिसेज प्रालिले ५० हजार,सी.सी इक्यूपमेन्ट प्रालिले ५० हजार, अनुप पुडासैनीको नामबाट नौ हजार उपमहानगरपालिकाको खातामा जम्मा गरिएको छ ।





