काठमाडौँ– बिहानको ठिक १०ः३० बजे। स्थान, बुद्धनगरस्थित रोजबड स्कुल। कक्षा ४ मा अध्ययनरत मान्सिका चौलागाईँ खाना खाएर स्कुलको क्यानटिनबाट बाहिर निस्किन्।
काठमाडौँका स्कुलमा अध्ययनरत विद्यार्थीहरूमा वातावरणका बारेमा कत्तिको ज्ञान छ भनेर अध्ययनका लागि विद्यार्थी खोज्दै जाँदा मान्सिका चौलागाईँसँग जम्काभेट भयो। उनलाई अहिलेको वातावरणीय समस्याबारे थाहा होला त ? यकीन थिएन किनकी उनको उमेर सानै छ।

तर, जब कुरा गर्न थालियो अनि थाहा भयो, मान्सिकालाई वातावरणका बारेमा कुनै पाको मान्छेभन्दा कम ज्ञान छैन् । ज्ञान मात्र होइन, समाजका अगुवाहरूले वातावरणका विषयहरूमा गरिरहेको हेलचक्र्याँइले उनलाई चिन्तित बनाइरहेको रहेछ । अहिलेको समयमा साना बालबाकिकाहरू स्कुल नजाने तथा नपढ्ने सायद नै कम होलान् । तर, अब बालबालिकाहरूलाई स्कुलमा पढाइने किताबीय ज्ञान मात्र काफी छैन, उनीहरूमा बाहिरी ज्ञानलगायत वातावरणसम्बन्धी ज्ञान हुनु निकै आवश्यक छ।
मान्सिकाले काठमाडौँमा बढ्दै गइरहेको वातावरण समस्या बारे विस्तृत रूपमा सुनाइन्। उनले आजकल काठमाडौँमा सबैभन्दा बढी वायु प्रदूषण र जलप्रदूषण भोगिरहेको बताइन्। ‘स्कुल होस् या घर, बाहिर आँगनमा खेल्दा धुलो, धुवाँ र फोहोर पानीहरूबाट आउने गन्धका कारण बाहिर निस्किन मन लाग्दैन,’ उनले भनिन्, ‘बाटोमा पुरानो गाडी नचलाउने, कलकारखानाहरू शहरभन्दा टाढा बनाउने र नदीनालामा फोहोर नफाल्ने हो भने वातावरणलाई जोगाउन सकिन्छ।’ वास्तवमा यतिबेला सरकार र नीति निर्माताहरूले सम्बोधन गर्नुपर्ने विषयहरू पनि यिनै हुन् । तर, सरकारी तबरबाट कुनै पनि पहल भएको पाइँदैन।
उनले आफ्नो स्कुलमा मनाइएको वातावरण दिवसका दिन वातावरणको बारेमा धेरै कुरा थाहा पाएको पनि बताइन्। चौलागाईँ जस्तै स्कुलमा अध्ययनरत साना बाबु–नानीहरूलाई हामीले अहिलेदेखि नै वातावरणको विषयमा जानकारी दिने र पढाउने गर्यौँ भने यसले उनीहरूलाई वातावरणको चेतना सँगसँगै चुनौतीसँग पनि लड्न सिकाउँछ। स्कुले बालबालिकलाई चुनौतीबारे थाहा छ, तर हामीले नै अहिले वातावरण संरक्षणमा पर्याप्त ध्यान दिइरहेका छैनौँ।
स्कुल तहमा वातावरणसम्बन्धी कत्तिको अध्ययन गराइन्छ र विद्यार्थीहरूलाई यस बारेमा कत्तिको ज्ञान छ भनेर थाहा पाउन हाकाहाकीले काठमाडौँका केही स्कुलहरू भ्रमण गरी शिक्षक र विद्यार्थीसँग साक्षात्कार गरेको थियो । स्कुल भ्रमण गर्दा मिनभवनस्थित एन. के. सिंह इङ्ग्लिस प्रिपेरेटरी स्कुल इपिएसका उपप्रधानाध्यापक राजेन्द्र शर्माले कक्षा ८ सम्म वातावरण विषयलाई विज्ञान र सामाजिक शिक्षासँग समावेश गराएर पढाउने गरेको जानकारी दिए।

इपिएसमा कक्षा ४ र ५ लाई विज्ञान पढाउने शिक्षिका टिक्स्ना कार्कीले पनि वातावरण विषयलाई विज्ञानसँगै जोडेर पढाउने गरेको जानकारी दिइन्। ‘हामीले विद्यार्थीहरूलाई किताबमा मात्र होइन, अतिरिक्त क्रियाकलाप गराउँदा विद्यार्थीहरूलाई भिन्न समूहमा विभाजन गरेर वातावरणसम्बन्धी कार्य दिने गर्छौँँ; जसमा उनीहरूले आफूलाई मन पर्ने विषय, जस्तै वायुप्रदूषण, वृक्षरोपणलगायत अन्य विषयमा प्रस्तुतीकरण दिने गर्छन्,’ भनिन् कार्कीले।
त्यही स्कुलमा अध्ययनरत कक्षा ५ का विद्यार्थी आर्यन कर्ण पनि वातावरण समस्यालाई लिएर निकै सजक देखिन्छन् । स्कुलले वातावरण समस्या बारे चेतना दिएपछि आफूले त्यस बारेमा अझ बढी ज्ञान पाएको कर्णले बताए । उनले भने ‘मैले महसुस गरेअनुसार अहिले वातावरणमा सबैभन्दा ठूलो समस्या भनेको वायुप्रदूषण हो, जसका कारण धेरै धुलो उड्छ र आँखा चिलाउने गर्छ।’
बुद्धनगरस्थित रोजबड ईन्टरनेशनल स्कुलको कक्षा ४ र ५ की संयोजक तुलसी शर्मा न्यौपानेले पनि अरू स्कुलको जस्तै वातावरणलाई विज्ञान र सामाजिक शिक्षामा समावेश गराएर पढाउने प्रतिक्रिया दिइन्। हरेक दिन बिहान स्कुलको प्राङ्गणमा प्रार्थनाको समयमा विद्यार्थीहरूले अहिले वातावरणमा देखिएको जल्दोबल्दो समस्याबारे जानकारी दिने गरेको न्यौपानेले बताइन् । उनले भनिन्, ‘हामीले कक्षामा विद्यार्थीहरूसँग वातावरण विषयबारे, उनीहरूले बुझेका छन् कि छैनन् भनेर उनीहरूसँग अन्तरवार्ता पनि गर्ने गर्छौँ र मास्क आदिको प्रयोग गर्न पनि सिकाउँछौँ ।’
त्यस्तै शान्तिनगरस्थित ग्ल्यासियर इन्टरनेशनल स्कुलमा अध्ययनरत कक्षा ४ का विद्यार्थी रिजन पुजारा पनि वातावरण समस्याप्रति निकै जागरुक देखिए। विद्यालयका कारण आफूले वातावरणको समस्या बारे धेरै जानकारी हासिल गरेको उनी बताउँछन्। उनी भन्छन्, ‘जलप्रदूषण वातावरणको मुख्य समस्या हो। गर्मी र त्यसमाथि फोहोर पानीका कारण म आफैँ पनि झाडापखाला लागेर बिरामी भएँ ।’
अहिले विद्यार्थीहरू वातावरण समस्यालगायत आफ्नो स्वास्थ्यप्रति निकै सचेत भएको देखिन्छ। यसरी नै सबै स्कुलहरूमा वातावरण बारे शिक्षा र चेतना दिने हो भने आउने दिनहरूमा हाम्रो समाजले स्वच्छ वातावरण पाउन सक्नेछ । केही वर्ष अगाडि स्कुलहरूमा वातावरण विषय अलग पढाउने गरिन्थ्यो, तर अचेल यस विषयलाई कक्षा ८ सम्म विज्ञान र सामाजिक शिक्षासँग समावेश गराएर पढाइन्छ । कक्षा ९ र १० मा मात्र अलग्गै पढाउने गरिन्छ।
५ जुनमा मनाइने विश्व वातावरण दिवसका दिन विभिन्न स्कुलहरूले आफ्ना विद्यार्थीहरूलाई वातावरणसम्बन्धी समस्या, त्यसको प्रकोप र त्यसलाई कम गर्ने विषयहरू बारे जानकारी दिने कार्यक्रम गरेका थिए। भावी पुस्ता वातावरणको बारेमा सचेत देखिन्छन्। तर, हामीले अहिले वातावरणलाई संरक्षण नगर्ने हो भने उनीहरूले चाहेर पनि वातावरण जोगिँदैन।
केही दिन अगाडी राष्ट्रसंघका महासचिवले वातावरण र जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि तत्काल कदम चाल्न सरकार, परिवार र समाजलाई दवाव दिन स्कुले वालवालिकहरुले महत्वपूर्ण भूमिका खेल्न सक्ने वताएका थिए ।





