Monday, October 21, 2024

२२ जिल्लाकोे सात हजार हेक्टर वन डढेलोले सखाप

यमबहादुर बम

काठमाडौं – सुख्खायाम शुरु भएसँगै देशभरका वनजङ्गलमा लागेको डढेलोले २२ जिल्लाको साढे सात हजार हेक्टर वन सखाप भएको छ । कतिपय वनजङ्गलमा अहिले पनि डढेलो लागिरहेको छ ।

वन विभागको तथ्यांक अनुसार डढेलामा परेर तनहुँ र डोटीमा गरी दुई जनाको मृत्यु भएको छ । यो तथ्यांक फागुन महिना यताको हो । विभागका सूचना अधिकारी सन्तमाया श्रेष्ठका अनुसार ढडेलका कारण विशेषगरी सल्लासँगै सालको वन, काठ, बुट्याउन, कलिला मुनामा वढी क्षति पुगेको छ ।

श्रेष्ठका अनुसार डढेलाका कारण उदयपुरमा चार हजार, सिन्धुलीमा ९ सय ६० तथा ओखलढुंगामा आठ सय ३४ हेक्टर वन सखाप भएको छ । उदयपुरमा साढे नौ सय क्युफिट काठ तथा ओखलढुंगामा १७ हजार विरुवा डढेलाका कारण विनास भएका छन् ।

यसैगरी, मकवानपुरमा चार सय १५, धादिङमा तीन सय ३४, धनकुटामा दुई सय ५३, ताप्लेजुंगमा एक सय ९५, डोटीमा एक सय ८०, रोल्पामा एक सय ६२, गुल्मीमा ९०, झापामा ६६, स्याङ्जामा ४५, रौतहटमा ४३, नुवाकोटमा ३७ र इलाममा ३३ हेक्टर वन क्षेत्र डढेलाका कारण विनास भएको सरकारी तथ्यांक छ ।

यस वर्षको सुख्यायामममा सबैभन्दा बढी आइतबार ६ सय २३ स्थानमा डढेलो लागेको छ भने चैत ६ गते एक सय ५९ स्थानमा डढेलो लागेको थियो । विशेषगरी तराई क्षेत्रका वनमा डढेलो वढी लागिरहेको विभागको तथ्यांक छ ।

हरेक वर्ष लाखौं हेक्टर वनजङ्गल डढेलाका कारण सखाप हुने गरेको छ । गत वर्ष मात्र तीन लाख ५० हजार हेक्टर वन क्षेत्रमा डढेलो लागेको थियो ।

श्रेष्ठका अनुसार डढेलो नियन्त्रणका लागि डढेलो व्यवस्थापन तथा योजना, अग्नी नियन्त्रणका लागि उपकरण खरिद, अग्नी नियन्त्रण रेखा निर्माण, जंगलमा पोखरी निर्माण गरिन्छ । ती कार्यक्रमका लागि विभागले गत फागुनमा मात्र ६ करोड ९२ लाख ३२ हजार रुपैयाँ सम्बन्धीत जिल्ला वनमा निकासा गरेको छ ।

तर, वनमा ढडेला लाग्दा घाँस राम्रो हुने, गोठालालाई गाईबस्तु चराउन सहज हुने गलत बुझाइ पनि डढेलोको मुख्य चुनौती रहेको उल्लेख गर्दै श्रेष्ठले भनिन्, ‘सुख्खायाममा वनजंगलमा सुकेका पात बढी हुन्छन् । आगोको सानो झिल्कोले पनि पूरै वनमा डढेलो फैलने गर्छ ।’

वातावरण विभागका डिभिजन इञ्जिनियर एवं सूचना अधिकारी शंकरप्रसाद पौडेल वनमा लाग्ने डढेलो पनि वातावरण प्रदूषणको एउटा कारण रहेको बताउँछन् । दक्षिणपूर्वी र दक्षिण एसियामा विशेषगरी अप्रिलमा डढेलो लाग्ने भएकाले सो समयमा प्रदूषण पनि बढ्ने गरेको उनले बताए । उनका अनुसार नजिकैको वनमा डढेला लाग्दा कतिपय बस्तीमा तुवाँलोझै धुँवा तैरिने गर्छ । जुन धुँवा काठमाडौंसम्म पनि पुग्ने गरेको उनी बताउँछन् ।

ताजा समाचार

सम्बन्धित समाचार