बाढीपहिरोको जोखिम हुन नदिन सरकारको ध्यानाकर्षण

काठमाडौँ– प्रतिनिधिसभाको आज (आइतबार)को बैठकको शून्य समयमा सांसदहरुले मनसुन शुरु भएपछि आउनसक्ने बाढी पहिरोको जोखिमको आकलन गरीे रोकथामका कार्यक्रम तत्काल ल्याउन र मलखादको अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसद कुमारी मेचले सुकुम्वासी समस्या समाधानका लागि तत्काल आयोग गठन गर्न र मनसुन शुरु भएपछि आउनसक्ने बाढी पहिरोको जाखिम रोकथामका कार्यक्रम ल्याउन सरकारसँग माग गरेकी हुन्।

शून्य समयमा बोल्दै सांसद आशाकुमारी विकले फागुन १ गतेदेखि एक करोड मुनिका सडक आयोजनामा सडक खन्न डोजर चलाउन नपाउने सरकारले नियम लगाए पनि ग्रामीण क्षेत्रमा यो नियम लागू नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराइन्।

सांसद केदार सिग्देल सेती नदीको कटान रोक्न समयमै ध्यान दिन आग्रह गरे। सांसद गणेशकुमार पहाडीले सिन्धुलीको सुनकोशी र कठजौर क्षेत्रलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरी तत्काल राहतको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए।

सांसद घनश्याम खतिवडाले मोरङ जिल्लाका ठाडा खोलामा बाढीको उच्च जोखिम रहेकाले यसको नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिए।

ताजा समाचार

सम्बन्धित समाचार