जलचर एवं जलीय जैविक विविधता संरक्षणका लागि मस्यौदा तयार

धनगढी – जलचर एवं जलीय जैविक विविधता संरक्षणका लागि मस्यौदा तयार गरिएको छ।

ठूलाीगाड जलाधार क्षेत्रभित्र पर्ने डोटी र कैलाली गरी पाँच गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, जनप्रतिनिधि र स्थानीयस सरोकारवालाहरूसँग धनगढीमा भएको जलचर एवं जलीय जैविक विविधता संरक्षणसम्बन्धी परामर्श गोष्ठीमा सहभागी व्यक्तिहरू ।

नेपाल पानी परियोजनाको पहलमा धनगढीमा भएको जलचर एवं जलीय जैविक विविधता संरक्षणसम्बन्धी विधेयकको मस्यौदामाथि दफावार छलफल गरी तयार गरिएको हो।

ठुलीगाड जलाधार क्षेत्रमा पर्ने गाउँपालिकाभित्रका समुदाय तथा जनप्रतिनिधीहरूको रायसुझाब समेटेर मस्यौदा तयार पारिएको पानी परियोजनाका गजेन्द्र सिंहले जानकारी दिए।

डोटीको जोरायल, बोगटान तथा बडीकेदार र कैलालीको चुरे र मोहन्याल गरी पाँच गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, जनप्रतिनिधि, सरोकारवाला संघसंस्थाका प्रतिनिधि एवं समुदायलगायतको सल्लाह सुझाबका आधारमा मस्यौदा तयार गरिएको सिंहको भनाइ छ। उनका अनुसार केही दिनमै सम्बन्धित गाउँपालिकाको कार्यपालिका बैठकमा व्यापक छलफल गरी कानुनका रूपमा पारित गरिने छ।

कैलालीको चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगरले भने ‘जलचर तथा जलीय जैविक विविधता संरक्षण विधेयकको मस्यौदा तयार भएको छ, यसलाई कार्यपालिकाको बैठकमा छलफल गरी पास गरिने छ ।’ गाउँपालिका बैठकमा मस्यौदामा केही परिमार्जन पनि हुन सक्ने उनले बताए।

पाँच वटा गाउँपालिकाका सरोकारवालाहरूको उपस्थितिमा तयार पारिएको मस्यौदामा जलचर एवं जलीय जैविक विविधता संरक्षणको परिभाषा, दण्ड जरिवाना, उत्खनन् गर्न पाउने लगायतका विषय समेटिएका छन्।

मस्यौदामा नदीमा विषादी तथा विद्युतीय उपकरणको प्रयोग गरी माछा मार्ने कुरामा बन्देज गरिने व्यवस्था रहेको छ। माछाले फुल पार्ने समयमा बल्छीको प्रयोग गरी माछा मार्न नपाइने पनि मस्यौदामा व्यवस्था गरिएको छ। विशेषतः माछाले फुल पार्ने मौसम जेठ, असार र साउन हो। ‘माछाले फुल पार्ने मौसममा बल्छीको प्रयोग गरी माछा मार्दा माछाको संख्या घट्न जाने भएका कारण सो कुरामा रोक लगाइने जनाइएको छ।

मस्यौदामा उत्खनन्का विषयमा गाउँपालिकाले वातावरणीय प्रभाव मूल्याङ्कन गरेपछि मात्र पाइने उल्लेख गरिए पनि अव्यवस्थित बसोबास तथा जथाभावी भौतिक संरचना निर्माणलाई भने समेट्न सकेको छैन।

कैलाली र डोटीको सीमा भएर बग्ने ठुलीगाड र कर्णाली नदीमा माछा मार्न विषादी, विद्युतीय उपकरण लगायतका सामग्री प्रयोग हुन थालेपछि माछा तथा अन्य जलचर प्रजाति लोपोन्मुख अवस्थामा पुगेका छन् । ठूलीगाड जलाधार क्षेत्रमा सहर, जेब्रा माछा, बुचे असला, असला सोल, चुच्चे असला र राजाबाम प्रजातिका माछा पाइने गरेको स्थानीयको भनाइ छ।

अव्यवस्थित मानव बस्ती बिस्तार, जथाभावी भौतिक संरचना निर्माण, उत्खनन् लगायतका कारण नदीको स्वरूप बिग्रँदै गएको प्रति स्थानीय जनप्रतिनिधिहरूले चिन्ता व्यक्त गरेका छन्।

एक अध्ययनअनुसार महाकालीमा सात तथा कर्णालीमा ६२ जलाधार क्षेत्र रहेका छन्। कर्णाली नदी विश्वमै पाँचौ सुन्दर स्थानमा पर्ने अध्ययनले देखाएको छ। सो अध्ययनअनुसार नेपालमा दुई सय ३२ प्रजातिका जलीय जैविक विविधता रहेकामा कर्णालीमा मात्र २७ प्रकारका जलीय जैविक विविधता रहेको पाइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार