सडक मर्मत नभएपछि थलीका स्थानीय पुनः आन्दोलित

काठमाडौँ– काठमाडौँको चाबहिल–साँखु सडकखण्डअन्तर्गतको थली–साँखु सडकखण्ड स्तरोन्नति गर्ने सहमति कार्यान्वयन नभएपछि स्थानीयबासीहरू पुनः आन्दोलित भएका छन्।

सडक स्तरोन्नतिका लागि सङ्घर्ष समिति र नगरपालिकाबीच भएको सहमति अनुसार थली–साँखु सडकखण्ड कालोपत्रे नगरेको विरोधमा स्थानीयवासीले आइतबार सडक अवरुद्ध पारेका हुन्।

पानी परेपछि सडकमा हिँड्नसमेत समस्या हुने गरेको स्थानीयहरूको गुनासो छ।

यसअघि गत जेठ २८ गते थलीबाट साँखु जाने सडकखण्ड कालोपत्र नभएको भन्दै स्थानीयहरूले सडक खण्डको विभिन्न ठाउँमा टायर बाल्दै अनिश्चित समयसम्म बन्दको आह्वान गरेका थिए।

आन्दोलपछि स्थानीय संघर्ष समिति र नगरपालिकाबीच तत्काल बाटोमा भएको हिलो सोहोर्ने, एक हप्ताभित्र बाटो ग्रेडिङ गरी आवतजावत सहज बनाउने र चाँडोभन्दा चाँडो सडक निर्माणका लागि सडक बोर्डमा पहल गर्ने सहमति भएको थियो।

सडकखण्ड तत्काल स्तरोन्नति गर्ने सहमतिपछि आन्दोलन फिर्ता लिइएको थियो। तर, हालसम्म पनि सहमतिअनुसार काम भएको छैन।

सरकारले गत २०७२ सालमा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना बनायो। काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणका लागि टेण्डर आह्वान गर्‍यो। असोजमा चार निर्माण व्यवसायीले ठेक्का पाएका थिए।

कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीहरुले यो सडकको विस्तारको जिम्मा दिइएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार