Saturday, September 28, 2024

मनसुन पश्चिमतिर विस्तार, पूर्वी भेगमा कमजोर

काठमाडौँ– औसतभन्दा १० दिन ढिलो गरी गत बिहीबार पूर्वी नेपालको ताप्लेजुङ विन्दुबाट प्रवेश गरेको मनसुन पश्चिमतिर विस्तार भएको छ।

मनसुन जुन १० अर्थात जेठ अन्तिम साताबाट सुरु भएर हालसम्म देशभर विस्तार भइसक्नु पर्नेमा यो वर्ष ढिलो गरी असार ५ गते नेपाली आकाशमा छाएको थियो। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु कमजोर भएसँगै मनसुन पनि मध्य र पश्चिमी क्षेत्रमा विस्तार भएको हो।

शनिबार चितवन, नवलपरासीसँगै पश्चिमका केही स्थानमा मध्ययमसम्म वर्षा भएकोमा बेलुका पश्चिम नेपालमा पनि प्रभाव परेको थियो। फलतः सुदूरपश्चिमका केही क्षेत्रमा हल्का वर्षा भएको थियो। मौसमविद् शान्ति कडँेलका अनुसार योसँगै वर्षा हुने गतिविधि क्रमशः बढ्दै गएको छ। ‘मनसुन पश्चिम क्षेत्रसम्म पनि पुगेको छ, पूर्वतिर कमजोर देखिए पनि अब केही दिनमा मनसुनले देशभर ढाक्ने छ। केही दिन पश्चिमी क्षेत्रमा भारी वर्षा गराउने छ।’ शनिबार र आइतबार बिहान काठमाडौँ उपत्यकामा पनि मनसुनी वर्षा भएको थियो। न्यूनचापीय मनसुनको बादल तय भए पनि यो परिपक्व हुन अझै समय लाग्ने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मध्य र पश्चिममा देखिएको बादलको प्रणाली शक्तिशाली भई पश्चिमतिर सरिरहेको छ। महाशाखाले आइतबार बुलेटिन जारी गरेर आइतबार मध्य र पश्चिमी भूभागहरुमा हल्कादेखि मध्ययम वर्षा हुने र पूर्वी भेगमा आंशिकदेखि सामान्य बदली हुने जनाएको छ। पश्चिमी र मध्य भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको बुलेटिनमा उल्लेख छ।

जुनदेखि सेप्टेम्बरसम्म चार महीनाको अवधिलाई दक्षिण एशियाली मनसुनको अवधि मानिन्छ । नेपालमा वार्षिक वर्षाको करीब ८०.५ प्रतिशत वर्षा मनसुनको समयमा हुने गर्छ । साउथ एशियन क्लाइमेट आउटलुक फोरम १४ मा आकलन गरिएअनुसार यस वर्षको मनसुनी वर्षा नेपालका प्रदेश १, २, ३ र ५ का केही पश्चिमी भूभागमा औसतभन्दा कम हुने अनुमान गरिएको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने औसतमा वर्षा हुने आँकलन छ।

सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको (करिब ३० वर्ष) औसत वर्षालाई बुझिन्छ। सरदर वर्षाको ९०५ देखि ११०५ सम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सोभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्युन वा अधिक वर्षा भएको मनिन्छ।

सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समय अर्थात करीब ३० वर्षको औसत वर्षालाई बुझिन्छ । सरदर वर्षाको ९० देखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सोभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून वा अधिकतम वर्षा भएको मानिन्छ।

जोखिमयुक्त क्षेत्रमा ‘एसएमएस’

ठूलो वर्षा नभए पनि चुरेबाट निस्कने खहरेबाट बाढी आउने जोखिम रहेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान शाखाले जनाएको छ। शाखाले गण्डकी प्रदेश, प्रदेश ५, कर्णालीसँगै चुरे क्षेत्रका खहरे खोलामा बहाबको जोखिम रहेकाले सतर्कता अपनाउन सूचना जारी गरेको छ। उसले चितवन, नवलपरासी, पाल्पा, स्याङ्जाका क्षेत्रमा मध्ययम वर्षा भएपछि महाशाखाले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनेको छ।

शखाका जलस्रोतविज्ञ विनोद पराजुलीका अनुसार चितवनको रिउ खोला र आसपासको भेगका स्थानीयलाई सतर्कता अपनाउन ‘एसएमएस’ पठाइएको छ। शाखाले नेपाल टेलिकम र एनसेलसँग सहकार्य गरी हरेक वर्ष बर्खायाममा एसएमएस पठाउँदै आएको छ।

मौसममा आंशिक बदली, मंगलबारसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशको मध्य र पश्चिमी भूभागहरुमा सामान्यदेखि पूर्ण बदली तथा पूर्वी भेगमा आंशिकदेखि सामान्य बदली रही पूर्वका केही स्थानहरूका साथै मध्य तथा पश्चिमका धेरैजसो स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसिम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी र मध्य भूभागका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहको छ भने उच्च हिमाली भूभागहरुको केही स्थानहरुमा हिमपातको सम्भावना रहेको छ ।

सोमबार देशैभरि आंशिकदेखि सामान्य बदली रही पूर्वका केही स्थानहरू साथै मध्य तथा पश्चिमका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको जनाइएको छ।

रातिको समयमा देशको मध्य र पश्चिमी भूभागहरूमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी भूभागमा सामान्य बदली भइ पूर्वका केही स्थानहरूमा साथै मध्य तथा पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

मंगलबार देशैभरि आंशिकदेखि सामान्य बदली रही पूर्वका केही स्थानहरू साथै मध्य तथा पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

राति देशको मध्य र पश्चिमी भूभागहरूमा आंशिकदेखि सामान्य बदली तथा पूर्वी भूभागमा सामान्य बदली भइ पूर्वका केही स्थानहरूका साथै मध्य तथा पश्चिमका थोरै स्थानहरूमा वर्षाको सम्भावना महाशाखाले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार