काठमाडौँ– वन तथा भू–संरक्षण विभागको आयोजना र विभिन्न सङ्घ संस्थाको सहयोगमा कोटेश्वरदेखि कलङ्कीसम्म बिरुवा रोप्ने तयारी अन्तिम चरणमा पुगेको छ।
करीब १० किलोमिटर खण्डमा सडक सौन्दर्यकरणका लागि विभिन्न प्रजातिका बिरुवा रोप्ने तयारी अन्तिम चरणमा पुगेको हो।
चीन सरकारको सहयोगमा निर्माण भएको उक्त सडक खण्डमा चीनको इतिहास र संस्कृतिसँग जोडिएको ‘गिन्को बाइलोवा’का रुख रोपन गर्नुका साथै असारे, कामिनी, तेजपात, कल्कीफूल, जाकाराण्डा, करवीरलगायत प्रजातिका करीब तीन हजार ५०० ठूला साइजका बिरुवा एकैपटक रोपन गरिने कार्यक्रम रहेको जनाइएको छ।
यही असार १४ गते बिहान ८ बजे वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा रोपन हुने उक्त कार्यक्रममा नेपाल वन पैदावार उद्योग महासङ्घले कोटेश्वरदेखि बालकुमारी पुलसम्मको एक किलोमिटर खण्डको दुवैतर्फ आफ्नै खर्चमा रोपन गर्ने भएको छ ।
त्यस्तै वृक्षरोपण कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष, एफएओ नेपाल, डब्लुडब्लुएफ नेपाल, रेड पाण्डा नेटवक, चक्रपथ सडक सुधार आयोजनालगायत संस्थाले आर्थिक सहयोग उपलब्ध गराउने विभागले जनाएको छ।





