Saturday, September 28, 2024

नेपाल-बंगलादेश ऊर्जा सहकार्यका लागि तीन निर्णय

काठमाडौँ— नेपाल-बंगलादेश ‘संयुक्त ऊर्जा संयन्त्र’ को बैठकले दुई देशबीचको ऊर्जा सहकार्यसम्बन्धमा तीनवटा निर्णय गरेको छ।
शुक्रबार ढाकामा सम्पन्न दुबै देशका ऊर्जा सचिव नेतृत्वको बैठकले जलविद्युत आयोजनाको छनोट, प्रशारण लाइन निर्माण र बैकिल्पक ऊर्जामा सहकार्य सम्बन्धमा निर्णय गरेको हो।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेका अनुसार नेपालले श्वेतपत्रमा उल्लेख गरेका २० वटा जलविद्युत आयोजनालाई प्राथमिकीकरण गर्न संयुक्त प्राविधि समिति बनाइएको छ। समितिले तीन महिनाभित्र प्राथमिकीकरणका आधारमा परियोजना छनोटसहितको प्रतिवेदन बुझाउने छ ।

र, सोही प्रतिवेदनका आधारमा बंगलादेशले जलविद्युतमा लगानी गर्ने छ। बंगलादेशले यसअघि १ हजार १ सय १० मेगावाटको सुनकोसी दोस्रो र ५३६ मेगावाटको सुनकोसी तेस्रो निर्माण गर्ने प्रस्ताव गरिसकेको छ भने ९ सय मेगावाटको माथिल्यो कर्णालीबाट उत्पादित विद्युत खरिद गर्नेबारे सैद्धान्तिक सहमति भइसकेको छ।

यसैगरी, ऊर्जा संयन्त्रको बैठकले आगामी दिनमा बन्ने ठूला आयोजनाको विद्युत बंगलादेश पु-याउन भारत हुँदै बंगलादेशसम्म प्रशारण लाइन बनाउने निर्णय पनि गरेको छ।

तत्काल भारतको संरचना प्रयोग गर्ने र भविष्यमा बन्ने आयोजना भारतको भूमि हुँदै बांगलादेशसम्म प्रशारण लाइन बनाउने सहमति भएको हो। भारतले पावर ट्रेड गाइडमा प्रशारण लाइन सम्बन्धमा उल्लेख गरेकाले समस्या नहुने आश्वासन नेपालले दिलाए पछि बंगलादेश सहमत भएको हो। त्यसैगरी, नेपालको बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र बंगलादेशको सेडाबीच सहकार्य गर्न संयन्त्र बनाउने निर्णय भएको छ।

गत वर्ष उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन बंगलादेश भ्रमणका गएको बेला दुई मुलुकबीच ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल गर्ने समझदारी गरिएको थियो। सोही समझदारीलाई अघि बढाउन दुई मुलुकबीचको ऊर्जा संयन्त्र गठन भएको थियो। संयन्त्रको बैठक यसअघि काठमामाडौँमा भएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार