महोत्तरी–लामो समयदेखि पानी नपरेको कारण वर्षाको भरमा खेतीपाती गर्ने किसानलाई धानको बेर्ना जोगाउन धौधौ परेको छ । सिँचाइको उचित व्यवस्था नभएको महोत्तरीको उत्तरवर्ती क्षेत्रका किसानलाई खेतमा तयार पारेको धानको तयारी अवस्थामा रहेको बेर्ना जोगाउन कठिन भएको छ ।
महोत्तरी औरही नगरपालिका–२ पचाइनका किसान दिनेश यादवका अनुसार वैशाख महीनामा हावाहुरीसँगै आएको पानीको समयमा ब्याडमा धानको बीउ छर्केको तर अब धान रोप्नका लागि बीउ तयारी अवस्थामा भए तापनि सिँचाइको अभावमा रोपाइँ गर्न समस्या भएको छ । यहाँका किसान अकाशे पानीको भरमा खेतीपाती गर्नुपर्ने बाध्यता रहेकाले खेतमा तयारी अवस्थामा रहेको धानको बेर्नालाई प्रचण्ड घामबाट जोगाउन मुस्किल हुँदै गरेको यादवले बताएका छन् ।
असारको पहिलो साता बितिसक्दा पनि किसानले खेतमा धान रोप्न नसकेको गौशाला नगरपालिका–१० का किसान देवलाल महतोले बताए। पानीको कारण धान समयमै रोपाइँ हुन नसकेको महतोले जनाएका छन् । ‘‘समय समयमा पानी नपरेको कारण ब्याडमै तयारी अवस्थामा रहेको धानको बेर्ना पहेँलो भई सुख्न थालेको छ’’, उनले भने ।
औरही नगरपालिकाका अर्का किसान विन्देश्वर महराका अनुसार ब्याडमा तयारी अवस्थामा रहेको बीउलाई जोगाउनका लागि घरबाटै बिहान–साँझ गरी पानी बोकेर लैजाने गरिएको छ । पहिले नजीकै रहेको जङ्घा नदीमा पानी हुँदा नहरको माध्यमबाट किसानले खेतमै पम्पसेट जडान गरी खेतीपाती गर्दथे तर नदी सुकेपछि किसानलाई खेतीपाती गर्न समस्या भएको उनको भनाइ छ ।
समयसमयमा पानी नपरेको कारण जिल्लाको गौशाला, बर्दिवास र औरही नगरपालिकाका किसानले रोप्नका लागि तयारी अवस्थामा रहेको धानको बेर्ना ब्याडमै सुख्न थालेको छ । यस वर्ष पनि उत्तरवर्ती क्षेत्रमा धानको उत्पादनमा कमी आउने गौशाला नगरपालिकाको कृषि शाखाका अधिकृत कल्पना पौडेलले बताए । रासस





