किन मर्दैछन् गैँडा ?

काठमाडौँ– पछिल्लो समय अवैध शिकारमा कमी आएपनि गैँडाको मृत्युमा भने कमी आउन सकेको छैन।

चालू आर्थिक वर्षमा प्राकृतिक कारण ४५ बटा गैँडाको मृत्यु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

विभागका सूचना अधिकारी विष्णु प्रसाद श्रेष्ठका अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ४०, बर्दिया राष्ट्रिय निकुञ्जमा ३ र चितवनमा २ गरी ४५ वटा गैँडाको मृत्यु भएको हो। ति सबै गैँडाको प्राकृतिक कारणबाट मृत्यु भएको उनको भनाइ छ।

एकआपसमा जुधेर, बुढो भएर, बच्चा जन्माउन नसकेर, सिमसार क्षेत्रमा डुबेर, करेन्ट लागेर, सेप्टी टयाङकीमा पसेर, बाघले बच्चा खाइदिएर जस्ता विविध कारणले गैँडाको मृत्यु भइरहेको उनी बताउँछन्।

अघिल्ला वर्षहरू भन्दा यो वर्ष धेरै गैंडाको मृत्यु भएकाले यस विषयमा विस्तृत अध्ययनको तयारी भइरहेको उनले जनाए। आगामी वर्ष निकुञ्जको क्षमताको पनि अध्ययन गर्ने तयारी गरेको उनले बताए।

‘प्रकृतिक कारण बाहेक पनि अन्य केही हो कि भनेर हामीले नमुना संकलन गरेर प्रयोगशालामा पढाएका थियौं,’ उनले भने, ‘हाम्रो प्रयोगशालामा पर्याप्त उपकरणको कमीले अन्य कारणहरू भने पत्ता लगाउन सकिएको छैन।’
थप परीक्षणको लागि भारत पठाउने तयारी भइरहेको उनले जानकारी दिए।

भारतमा जेडएसआई टेस्ट गराउन लागेको उनी बताउँछन्। विभागले ६० ठाउँको पानी परीक्षण गर्दा पनि मृत्युको अन्य कारण पत्ता लाग्न सकेन उनले भने,‘ मृत शरीर र वासस्थानको जाँच गर्दा पनि केही खुलेन ।’

सन् २०१५ को गणना अनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा २९, चितवन राष्ट्रिय निकुञ्जमा ६०५, शुक्लाफाँट राष्ट्रिय निकुञ्जमा ८, पर्सा राष्ट्रिय निकुञ्जमा ३ वटा गरी नेपालमा ६ सय ४५ गैंडा विभागको तथ्याक रहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार