चेन्नई– भारतको छैटौँ ठूलो शहर चेन्नईमा बस्ने ४० लाख मानिसहरू खानेपानीका लागि पूर्ण रूपमा सरकारी ट्याङ्करहरूमा निर्भर भएका छन्।
यो साता चेन्नाईको चारवटा पानी भण्डारणस्थल सुख्खा भएपछि त्यहाँका मानिसहरू सरकारी ट्याङ्करहरूमा निर्भर हुँन बाध्य भएका हुन्। अन्य मानिसहरूले धेरै रकम खर्च गरेर निजी ट्याङ्कर कम्पनीमार्फत आफ्ना घरमा पानीको बन्दोबस्त गरिरहेको बिबिसीले जनाएको छ।
केही ठाउँमा मानिसहरूले इनारबाट पानी झिक्न खोजिरहेका छन् तर त्यसको गुणस्तर निकै खराब रहेको छ। अधिकांश भारतीय शहरहरूमा पानीको लागि मानिसहरू पानीको लागि सधैँ संर्घष गरिरहेका हुन्छन्। शहरका बासिन्दाहरू चौबिसै घण्टा धारामा पानी आउने अपेक्षा राख्दैनन्। त्यसैले उनीहरू पानीको भण्डारण गर्छन्।
तर यसपटक मनसुनको आगमनमा ढिलाइ भएकाले पनि चेन्नईको पानी सङ्कट झन् बढ्दै गएको जनाइएको छ।
साना रेस्टुरेन्टहरू त बन्द नै भएका छन्। केही मानिसहरूलाई तिनका कार्यालयले कार्यस्थलमा पानी जोगाउन घरबाटै काम गर्न आग्रह गरिएको छ। शहरको मेट्रो प्रणालीले पानी बचाउन आफ्ना स्टेशनहरूमा एसी चलाउन छाडिएको बिबिसीमा उल्लेख छ।
होटलहरूले पानी अड्कलेर मात्र दिन थालेका छन्। होटल आनन्दका व्यवस्थापक पी चन्द्रशेखरले पाहुनाहरूलाई पानीको हरेक थोपाको महत्त्व बुझ्न भनेका छन्, “हामी मात्र होइन, सबै होटलहरू बन्द हुनसक्छन् किनभने पानी नै छैन।”
पानीको लागि लाइनमा लागेका मानिसहरूबीच मारपिट समेत भएको छ।





