Saturday, September 28, 2024

बागलुङमा व्यावसायिक खरायोपालन

बागलुङ – बागलुङ नगरपालिका–३ गौडाकोटका नारायण शर्माले व्यावसायिकरुपमा खरायोपालन शुरु गरेका छन् ।

शर्माले चार महीनाअगाडि घरमा पाल्न दुई वटा खरायो जैमिनी नगरपालिकाको राङ्खानीबाट ल्याएका हो । “दुई वटाबाट शुरु गरेको खरायोपालन अहिले २५ वटा पु¥याएको छु”, शर्माले भने ।

व्यावसायिक रुपमा खरायो पाल्नका लागि आठ लाखको लागतमा खोर निर्माण गरेको बताउँदै शर्माले खरायोको सङ्ख्यामा वृद्धि गर्ने योजना रहेको सुनाए । “हालसम्म तीन जोर खरायो बेचे”, शर्माले भने, “एक सय पु¥याएर मात्र अब बेच्ने योजना छ ।” खरायो शाकाहारी भएकाले घाँस मात्र खुवाउँदा धेरै खर्च लाग्दैन ।

हाल खरायोलाई मासुका रुपमा प्रयोग गर्ने प्रचलन बढेको छ । सेतो मासु भएका कारण रातो मासु नखानेका लागि उपयुक्त हुन्छ । एक जोर खरायोलाई रु एक हजार पर्छ । “एक सय पु¥याएपछि मासुका लागि बिक्री–वितरण गर्ने योजनामा छु”, शर्माले भने । अहिले ठूला होटल तथा रिसोर्टमा खरायोको मासुको माग रहेको थाहा पाएकोले खरायोपालनलाई व्यावसायिक रुप दिएको शर्माले बताए ।

करीब पाँच–६ महीनाको उमेर पुगेपछि पोथी खरायो वयस्क हुन्छ । गर्भ रहेको २८ देखि ३२ दिनमा नै खरायोले चारदेखि १२ वटासम्म बच्चा जन्माउने गर्छ । फेरी त्यसको १२–१५ दिनमा नै पुनः गर्भधारण गर्दछ । त्यसैले पनि भालेको भन्दा पोथीको मूल्य बढी पर्छ । खरायो जन्मेको तीन महीनामा नै मासुका लागि योग्य हुन्छ । खरायो पाल्नका लागि त्यति धेरै जग्गा नचाहिने घरको कुनै एक छेउ, कौसीमा पनि गर्न सक्ने भएकाले यो व्यवसायमा हात हालेको उहाँको भनाइ थियो । रासस

ताजा समाचार

सम्बन्धित समाचार