महेन्द्रनगर – शुक्लाफाँटा नगरपालिका–८ नौखरी गौडी खोला नजिक लुकाएर राखिएको काठ बरामद गरिएको छ । सोमबार राती स्थानीय दानबहादुर बुढाको नयाँ खनिएको पोखरी वरिपरी लुकाएर राखेको सालको ११ गोलिया काठ बैजनाथ सामुदायिक वनका पदाधिकारीले बरामद गरेका हुन।
करिब २४.३१ क्यूफिट काठ विशेष सुराकीका आधारमा बरामद गरिएको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताए।
उनका अनुसार बरामद गरिएको काठ सामुदायिक वनको घाटगद्दीमा राखिएको छ । बरामद गरिएको काठ सामुदायिक वनबाट तस्करी गरी ल्याएर लुकाएको हुन सक्ने अध्यक्ष महराले बताए । ‘कुन वनबाट काठ ल्याएको हो त्यो यकीन भएको छैन्, त्यसको अनुसन्धान भइरहेको छ,’ उनले भने । काठ लुकाएर राख्ने व्यक्तिको खोजी भइरहेको उनले बताए। उनका अनुसार सामुदायिक वनको अपराध नियन्त्रण टोली र सव डिभिजन वन कार्यालय शुक्लाफाँटाको टोलीले अनुसन्धान गरिरहेको छ ।
‘काठ तस्करी गरी लुकाउने व्यक्तिको खोजी भइरहेको छ, काठ बरामद गरेर घाटगद्दीमा लग्ने क्रममा स्थानीय बिरबहादुर बोहरा नेतृत्वको समूहले रोक्न खोजेको थियो,’ उनले भने, ‘उनीहरूको पनि काठ तस्करीमा संलग्नता हुन सक्छ, उनीहरूमाथि पनि अनुसन्धान भइरहेको छ।’ सव डिभिजन वन कार्यालय शुक्लाफाँटाले काठ लग्न नदिनुु भनेपछि रोकेको बिरबहादुर बोहराले बताए । ‘वनका अध्यक्ष लगायतले काठ ट्याक्टरमा राखेर लगिरहेका थिए, त्यो जानकारी हामीले सव डिभिजन कार्यालयलाई गर्यौं, सव डिभिजनका प्रमुखले रोक्नु भनेपछि रोकेका हौं,’ उनले भने।
बोहराले तस्करी भइरहेको जानकारी गराएपछि रोक्नु भनेको सव डिभिजन वन कार्यालय शुक्लाफाँटाका सहायक वन अधिकृत गणेश ठगुन्नाले बताए। ‘उनले गलत रिर्पोटिङ गरेका रहेछन्, पछि बुझ्दा लुकाएको काठ सामुदायिक वनले बरामद गरेर घाटगद्दीमा लगिरहेको पाइयो,’ उनले भने।





