बैतडी–पछिल्लो समयमा बैतडीका खोलानाला, नदी र पानीका मुहान सुक्दै गएका छन् । चार/पाँच वर्ष पहिला कलकल पानी बग्ने खोला सुक्खा भएको सुर्नया–६ शङ्करपुरका नन्दराम अवस्थीले बताए। पानीका मुहान सुक्दै जाँदा ठाउँठाउँमा खानेपानी अभाव र सिँचाइ अभाव हुन थालेको हो।
पछिल्लो समयमा गाउँमा खानेपानीको समस्या बल्झिँदै गएको मेलौली नगरपालिका–१ का लक्ष्मण पार्कीले बताए। उनले भने, “गाउँका कुवामा समेत पानी सुक्न थालेपछि गाउँलेलाई खानेपानीको समस्या भएको छ”, जथाभावी वन फडानी हुनु, लागत अनुमानविना ठाउँठाउँमा सडक खनिनुले पानीको मुहान सुक्दै गएको डिभिजन वन कार्यालयका सहायक डिभिजन वन अधिकृत रामप्रसाद चौधरीले जानकारी दिए।
जङ्गल मासेर सडक खनिएका धेरै निवेदन आफूकहाँ आइपुगेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख केशव पराजुलीले बताए। उनले भने, “जथाभावी सडक खन्दा पानीका मुहानजस्ता प्राकृतिक सम्पदा नष्ट हुने र यसले मानवको जीवनमा सङ्कट निम्त्याउने छ।”
यसैबीच सुक्खायामको शुरुआतसँगै बैतडीको मेलौलीमा खानेपानीको चरम समस्या भएको छ। काँडाबजार र आसपासका गाउँमा खानेपानीको चरम अभाव भएको स्थानीयवासीले बताएका छन्। खानेपानी अभाव हुँदा होटल व्यवसायी, भाडामा बस्दै आएका कर्मचारी, विद्यार्थी र स्थानीय बासिन्दा निकै समस्यामा परेका छन् । खानेपानीको अभावमा अनिदो बसेर पानीको जोहो गर्नुपर्ने अवस्था आएको स्थानीय सुना दमाइले बताइन्।
प्रत्येक वर्ष सुक्खायाममा पानीकै अभाव झेल्नुपर्ने अवस्था आएको स्थानीयवासी गङ्गासिंह नायकले बताइन्। काँडाबजारमा खानेपानीको चरम समस्या हुँदा होटल व्यवसाय नै बन्द गर्नुपर्ने स्थिति आएको होटल व्यवसायी सीता चन्दले बताइन्।
मेलौलीमा विसं २०४० मा ग्वाल्लेकबाट ल्याएको खानेपानी योजना जीर्ण हुँदा र मुहानमै पानी कम हुँदा पानीको हाहाकार भएको हो। स्थानीय सरकारले खानेपानीको समस्या समाधान गर्न नसक्दा स्थानीय बासिन्दा निराश छन्। रासस





