कृषकलाई यान्त्रिक हलो वितरण

बलेवा–कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले बागलुङ नगरपालिका–१२ अमलाचौरले यान्त्रिक हलो (मिनी पावर टिलर) वितरण गरेको छ। थोरै समयमा धेरै खेतबारी जोत्न सकिने, गोरु पाल्न झन्झट नहुने र कम लागतमा खेती लगाउन पाइने भएकाले कृषकको मागअनुसार गाउँपालिकाले यान्त्रिक हलो वितरण गरेको हो।

वडाले साविकको अमलाचौर गाविसका नौ वडामा कृषक समूह बनाएर हलो वितरण गरेको वडाध्यक्ष गुरुदत्त पाठकले बताए । पहिलो चरणमा एउटा समूहलाई एउटा यान्त्रिक हलो वितरण गरिएको छ।

गाउँमा खनजोतका लागि गोरुको अभाव र जनशक्तिसमेत नरहेकाले किसानको माग यान्त्रिक हलो हुने गरेको छ । डिजेल वा पेट्रोलबाट चल्ने तथा कम जनशक्ति भए पनि पुग्ने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको वडाध्यक्ष पाठकले बताए।

एक हल गोरुले एक दिनभरिमा जोत्न सकिने जमिन यान्त्रिक हलोले दुई घण्टामा जोत्न सकिन्छ । हलोसँगै वडा कार्यालयले त्यसको प्रयोगको विषयमा प्राविधिक बोलाएर जानकारी गराएको थियो। रासस

ताजा समाचार

सम्बन्धित समाचार