Saturday, September 28, 2024

जग्गा बाँडेर सुकुम्बासी समस्या हल हुँदैन —लुम्साली

महेन्द्रनगर – उमेरले ७२ पुगिसके तर जोश र उत्साह उस्तै। कुनै बेलाका चर्चित पात्र। नेपालको पहिलो वामपन्थी सरकार जसको नेतृत्व मनमोहन अधिकारीले गरेका थिए । त्यस सरकारका एक खम्बा थिए तत्कालीन सुकुम्बासी समस्या समाधान आयोगका तत्कालीन अध्यक्ष ऋषिराज लुम्साली ।

कुनैबेला समाचारमा यि पात्र निकै छाउँथे । आज यति सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गरियो । उनको नाम नआएको दिनै हुदैनथ्यो । यतिवेला गुठी विद्येयकले राष्ट्रिय चर्चा पाउँदा यी नेताचाँहि त्यो बहसबाट अलि टाढा नै छन् । ओली सरकारको कार्यशैली, भूमि विद्येयक अनि उनकै जीवन यात्रा बारेमा जान्ने उत्सुकता भयो। महेन्द्रनगरको शुक्लाफाँटा रेडियो छेउको उनको निजी निवासमा जाँदा उनी अध्ययनमा व्यस्त देखिन्थे । धेरै वर्षपछिको भेटलाई नविकरण गरेपछि लुम्सालीले आफ्ना अनुभवहरू विस्तारमा सुनाए ।

लुम्सालीजी घरमै थिए । उनलाई मन्त्रालयबाट फोन आयो, नेकपाका अहिलेका महासचिव, विभागीय मन्त्री, सचिवहरू सहितको एउटा मिटिङ छ सहभागी भइदिनुपर्ने भो। आजभोलि यी नेताको यस्ता बैठकप्रति दिलचस्पी छैन। उनले भने, ‘म त विद्यार्थी मान्छे दिनभरको बैठकमा त सहभागी हुन सक्दिन।’ उताबाट जवाफ आयो २ घन्टा जति हो। ‘ल हुन्छ म फलानो दिन काठमाडौं आउँछु’, उनले स्वीकार गरे ।

निर्धारित दिनमै उनी काठमाडौंको निर्दिष्ट ठाउँमा पुगे । नभन्दै त्यहाँ भूमि व्यवस्ता, सुकुम्बासी समस्या समाधान लगायतका विषयमा उच्चस्तरकै छलफल रहेछ। चाख दिएर सुन्दै थिए, नेकपा महासचिव विष्णु पौडेललाई कार्यक्रमबाट जानुपर्ने भयो। उनले बोल्न लागे। पार्टी महासचिवले लुम्सालीलाई अप्रत्यासित प्रस्ताव राखे,सुकुम्बासी समस्या समाधानको जिम्मा तपाइँले लिइदिनु पर्‍यो।

अब निर्णय दिने उनको पालो आयो। उनले प्रष्ट भने, ‘समय अगाडि बढिसक्यो । म त अब अध्ययनतिर लागिसके। त्यसैले यस्तो जिम्मेवारीके बारेमा कुरै नगरौं।’ उनले आफ्नो पार्टी प्रतिको हार्दिकता र शुभेच्छा प्रकट गरे।

दुई तिहाई सरकारको अफर किन नमानेको त ? जिज्ञासाको प्रतिउत्तरमा लुम्सालीले दुई तर्क दिए। पहिलो अब म पूर्वीय दर्शनको विद्यार्थी भएको छु मेरो अध्ययनमा यो कामले बाधा गर्छ । दोस्रो, यो समस्या समाधान गर्न यो सरकार चलाउनेहरूले सक्दैनन्।

सुकुम्बासीलाई भटाभट जग्गाधनी पूर्जा बाँडेर चर्चामा त आए तर कालान्तरमा उनको सोच बदलिँदै गएको पाइयो। मेरो लामो अध्ययन र अनुभवले मलाई के सिकायो भने जग्गा बाँडेर यो समस्याको समाधान हुँदैन। त्यसैले अब फरक ढंगले अघि बढ्नुपर्ने आवश्यकता छ।

त्यही बेला उनको फोन बज्यो। सायद मन्त्रालयतिरबाट कुनै सुझाव मागिएको हुनुपर्छ, उनले सामग्री इमेल गरिदिन भने । म पढेर सुझाव दिउँला, फोनवार्ता टुंगियो। भेटघाट लम्बिदै जाँदा कञ्चनपुरका पूर्व जिविस सभापतिले थोरै राजनीतिक विचारहरू पनि प्रकट गरिहाले। आदर्शलाई पछ्याउने यी नेतामा अहिलेको संघीयता राम्ररी कार्यान्वयन हुने विश्वास नै देखिएन । खासगरी अहिलेको सरकार सञ्चालन गर्ने परिपाटीले प्रदेश तहमा अन्योल र असन्तुष्टि छाएको कुरा उनको विचारबाट बुझ्न सकिन्थ्यो । सरकार चलाउने शैली उनका लागि चित्त दुखाइको विषय रहेछ ।

छलफललाई बीट मार्ने क्रममा यी ७२ वर्षे नेताले आफ्नो जीवनको बारेमा बताए। अहिले उनी पूर्वीय दर्शन अध्ययन गरिरहेका छन् । त्यो पनि बाल्मिकी विद्यापीठबाट। उनी अहिले पूर्णकालीन विद्यार्थी। उनी पूर्वीय दर्शनबारेमा मास्टर्स गर्दैछन्। उनी कहिले घरमै बसेर पढ्छन् त कहिले कलेजमा ।

उनी नेपालको पुरानो छात्राबास तीनधारा पाठशालाका एकमात्र पाका विद्यार्थी। उनी छात्राबासमै बस्छन् काठमाडौं जाँदा। कति विषयमा त रातमा अध्ययन गर्छन उता गुरुले स्काइपमार्फत पढाउँछन् उनी कम्प्युटरमा नोट गर्छन्। कलेजमा त उनको उमेरका कोही छैनन्। तर उनलाई लाग्छ, पढ्न ढिला भएछ। उनले प्रष्ट भने, ‘समय अगाडि बढिसक्यो । म त अब अध्ययनतिर लागिसके । त्यसैले यस्तो जिम्मेवारीकै बारेमा कुरै नगरौं । ‘८० वर्षपछि चीनको एउटा विश्वविद्यालयले विद्यार्थी भर्ना लिन्छ रे उमेरले अनुमति दियो भने त्यहाँ गएर मज्जाले दिन बिताउने धोको छ,’ छुट्टिने बेला उनले भने ।

ताजा समाचार

सम्बन्धित समाचार