Saturday, September 28, 2024

पानीको मुहान संरक्षणमा उदाहरण बन्यो धारी गाउँ

डोटी–बडिकेदार गाउँपालिका वडा नं. ५ मा पर्ने धारी गाउँका स्थानीय खानीपानीको मुहानको संरक्षणमा जुटेका छन् ।

धारी गाउँका बासिन्दाले खानेपानीको मुहान संरक्षण गरी अहिले घरघरमा पानी ल्याउन सफल भए । योसँगै घण्टौँ पानी लिन जानुपर्ने समस्याको पनि अन्त्य भएको छ । ३५ घरधुरी रहेको यो गाउँ विकासका हिसाबले पनि धेरै पछाडि छ । बडिकेदार गाउँपालिका– ५ की स्थानीय भागादेवी बोहोरालाई गाग्री बोकेर पानी लिन जानुपर्ने बाध्यताको अन्त्य भएको छ । अब पानीका लागि दैनिक घण्टौँ समय खर्चनु पर्दैन ।


‘डोकोमा कपडा हालेर पानी ल्याउँथेँ म । पहिला पानीका दुःख कहिल्लै पाएनौँ । खोलाको पानी ल्याएर खाना पकाएर १० बजे काममा जानुपथ्र्याे,’ बोहोराले भनिन् । भागा देवीको जस्तै दुःख सारदादेवी बोहोराले पनि भोगिन् ।

‘कहिले राति ३ बजे जान्थ्यौँ । पानी ल्याउँदासम्म उज्यालो हुन्थेन । जेठ वैशाखमा पानी सुक्थ्यो,’सारदादेविले भनिन्, ‘हातमा जर्किन र पाँच पाँच लिटरको तामाको भाँडो काँधमा हुन्थ्यो ।’ भागादेवी र सारदा प्रतिनिधि पात्र मात्र हुन । यस्तो दुःख सम्पूर्ण धारीका बासिन्दाले नै भोगे । तर आज घरसम्म पानी पुगेपछि स्थानीयले हिजोको दुःख बिर्सिएका छन् । दैनिकी पनि सहज बनेको छ ।

‘पानी दैलामै छ । अब हामीलाई केही टेन्सन नै छैन,’भागीदेविले भनिन् । मुहानको पानी घरमै पुगेपछि स्थानीयले बारीमा तरकारी फलाएका छन् । स्थानीयका बारीमा भाण्टा, प्याज, सिमी, बोडीलगायतका तरकारीहरू लहलह फलेका छन् । हिजो पानी लिन जाने समय आज उनीहरूले खेतबारीमा दिएका छन् । हिजो घरमा खानसमेत तरकारी हुँदैनथ्यो । तर आज समय र अवस्था दुवै फेरिएको छ । तरकारीले स्थानीयको आयआर्जनमा समेत सहयोग पुगको छ ।

स्थानीय केवलसिंह बोहोराले पनि प्याजलगायतका अन्य तरकारी बारीभरि फलाए । मुहानको पानी गाउँमै पुगेपछि बोहोरा र स्थानीयलाई तरकारी फलाउन सजिलो भएको हो । ‘तरकारीमा धाराको पानी र घरेलु मल हाल्छौँ । पहिला प्याज, गोपी केही हुन्थेन । धारा पर्याप्त पानी आउन थालेपछि तरकारीमा लगाउन पनि पुग्छ, ’सिंहले भने।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष उदयसिंह बोहोरा विगत पाँच वर्षदेखि खानेपानी व्यवस्थापनमा सक्रिय छन् । बस्तीसम्म पानी पु¥याउन उनले खेलेको भूमिका महत्वपूर्ण छ । अहिले गाउँमा सामूहिक र निजी गरेर ३० वटा धारा २४ सै घण्टा सञ्चालनमा छन् । एक धारा बराबर स्थानीयले ९० रुपैयाँ मासिक उठाउँदै आएका छन् । यो रकमले पानी व्यवस्थानको काममा सहयोग पु¥याको छ ।


मुहानको पानी घरसम्म पु¥याउन २०७१ सालमा क्षेत्रीय खानेपानी आयोजना डोटीले सहयोग गरेको थियो । कार्यालयको नगद सहयोग र स्थानीयको जनश्रमदानसहित ९० लाख लागतमा बस्तीसम्म पानी पुग्यो । आयोजनाको नाम बडिकेदार खानेपानी आयोजना स्किम नम्बर ३ हो । आयोजना सफल बनाउन उदयसिंह बोहोरा र स्थानीयहरू सक्रिय भएर लागे । सबैको सहभागितामा ४ किलोमिटर टाढाबाट बस्तीसम्म पानी पुगेको हो ।

‘श्रमदानदेखि लिएर अन्य सहयोग कसरी र के गर्ने ? भन्ने सल्लाह सुझाब लिएर त्यही अनुसार हामीले काम गरायौँ । काम गरे बापतको केही सेवा सुविधा पनि पायाँै,’ खानेपानी उपभोक्ता समितिका अध्यक्ष बोहोराले भने, ‘समाज हाम्रो बलियो छ ।

समाज बलियो भएका कारण दुःख, कष्ट र अभाब सहँदै काम ग¥यौँ । त्यही त्यागको फल स्वरूप आज स्वच्छ पानी पिउन पायौँ । त्यो भएर अहिले हामीलाई खुसी छ ।’ धारीमा अहिले ३० वटा धारा छन् । लामो समय पानीको समस्या झेलेका स्थानीय अहिले मुहानको संरक्षण र पानी व्यवस्थापनकै कारण खानेपानीको समस्या समाधान भएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार