जमिनबिनै विरुवा हुर्काउन सकिने एरोपोनिक्स प्रणाली नेपालमा

काठमाडौँ – विश्वमा विरुवा रोपणमा निकै उपयोगी ठानिएको एरोपोनिक्स प्रणाली नेपालमा पनि शुरु भएको छ।

यो प्रणालीको शुरुवातसँगै काठमाडौँ महानगरपालिकाले महानगरभित्र एरोपोनिक्स प्रणालीबाट फूल फुलाउन नबिल बैंक र एरोपोनिक्स प्रणालीको प्रवद्र्धन गर्दै आइरहेको संस्था एरोरुटसँग त्रिपक्षीय सम्झौता गरेको छ। महानगरका प्रमुख विद्यासुन्दर शाक्यको रोहवरमा सम्पन्न सम्झौता बमोजिम ९० दिनभित्र प्रणाली जडान गरेर फूल फुलाउने दाबी गरिएको छ।

के हो एरोपोनिक्स प्रणाली ?
एरोपोनिक्स प्रणाली भनेको कुनै पनि बिरुवालाई माटोको प्रयोग नगरी तुवालो उपकरणको प्रयोगले उमार्न मिल्ने प्रक्रिया हो। यस प्रणालीमा विरुवामा पोषक तत्वसहितको पानी स्प्रे गर्ने गरिन्छ। यस प्रणालीमा विरुवालाई उमार्नको लागि प्रेसर पम्पको प्रयोग गरिन्छ। एरोपोनिक्स प्रणालीमा बिरुवाले पर्याप्तमात्रामा अक्सिजनलिन सकोस् भनेर यसका जरारूलाई हावामा खुल्ला राख्ने गरिन्छ।

सानो ठाउँमा पनि सजिलै उमार्न सकिने, पानीको प्रयोग धेरै नहुने र छिटो उम्रिने भएकोले पछिल्लो समय यसको प्रयोग बढ्दै गएको छ।

एरोपोनिक्स प्रणालीको लागि हरेक बिरुवालाई हुने गरी धेरै प्वाल पारिएको प्लाष्टिकको भाँडा र एउटा पोषक तत्व भएको भाँडा चाहिन्छ । यो प्रणाली ठाडो तथा तेर्सो दुवै आकारको हुने गर्दछन्।

यस प्रणालीमा बिउहरूलाई त्यसमा भएको निश्चित भाँडामा राख्ने गरिन्छ। जसको आधा भागमा उज्यालो पारिएको हुन्छ भने बाकीँको आधा भागलाई पोषक तत्वले भरिएको तुवालोसहितको उपकरणमा राखिएको हुन्छ। यसमा ठूला बोटभन्दा पनि साना किसिमका बिरुवाहरू सजिलै रोप्न सकिन्छ। यसमा जडीबुटी, टमाटर, स्ट्रबेरी, काँक्रालगायत विभिन्न साना किसिमका विरुवा रोप्ने गरिन्छ।

उक्त प्रणालीको परीक्षण सन् १९६० भन्दा अगाडि देखि सुरु भएपनि नेशनल एरोनोटिक्स् एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा)ले भने सन् १९९० देखि मात्र सुरु गरेको हो। सन् १९९७मा नासाले सिमीको बिउलाई दुई किसिमले परीक्षण गर्‍यो। एउटा बिउलाई एरोपोनिक्स प्रणालीमा राखेर र अर्को बिउलाई जमिनमा गाडेर परीक्षण गर्‍यो। त्यसको परिणाम स्वरुप दुवैे एक किसिमले उम्रिए । त्यसपछि यो प्रणाली फस्टाएको विज्ञहरू बताउँछन्।

के के छन् फाइदा ?
एरोपोनिक्स प्रणालीको पनि आफ्नै किसिमका फाइदा तथा बेफाइदाहरू छन्। यस प्रणालीमार्फत सानो ठाउँमा धेरै तरकारीहरू उब्जाउन सकिन्छ। यो प्रणाली वातावरणमैत्री पनि छ। यस प्रणालीमा माटोमा उब्जिने बिरुवाहरूलाई भन्दा ९५ प्रतिशत कम सिंचाईले नै पुग्छ। विरुवाहरूमा कीटनाशक तथा हानिकारक रसायनको प्रयोग नगरेर जीवाणु रहित तरिकाले उमार्न सकिन्छ। यसमा प्रयोग भएको पौष्टिक पानीलाई फेरि पनि प्रयोगमा ल्याउन सकिन्छ।

मूल्य कति ?
एरोपोनिक्स प्रणालीको मूल्य त्यसको आकार अनुसार फरक पर्ने गर्दछ। हातले बनाएको छ भने यसको मूल्ल अमेरिकी १०० डलर सम्म पर्छ । यसको मूल्य देश अनुसार फरक पर्ने गर्दछ।

ताजा समाचार

सम्बन्धित समाचार