Saturday, September 28, 2024

अनुदान सम्झौता नगरे वा पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने

काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म अनुदान संझौता नगरेका लाभग्राहीहरुलाई यही असार २१ गतेभित्र अनुदान सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो किस्ता लिन अनुरोध गरेको छ ।

प्राधिकरणले उल्लेखित समयसीमाभित्र अनुदान सम्झौता गरी पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने अवगत पनि गराएको छ ।

निजी आवास अनुदानका ६० हजारभन्दा बढी भूकम्प प्रभावितहरु लाभग्राही बनेपछि पनि अनुदान सम्झौता गर्न नआएपछि समयसीमा निर्धारण गर्नु परेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरले बताए । सोमबार अपरान्हसम्मको तथ्यांकअनुसार ८ लाख २६ हजार ३३३ लाभग्राहीमध्ये ७ लाख ६६ हजार ३१७ ले मात्र अनुदान सम्झौता गरेका छन् ।

भूकम्प प्रभावित लाभग्राहीले अनुदान सम्झौता गर्न आआफ्नो वडा कार्यालयहरुमा सम्पर्क राख्नुपर्नेछ । त्यसैगरी, अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीहरुलाई यही असार मसान्तभित्र पहिलो किस्ता बापतको अनुदान रकम लिइसक्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

अनुदान सम्झौता गरेका ७ लाख ६६ हजार ३१७ मध्ये सोमबार अपरान्हसम्म ७ लाख ६१ हजार ५४२ ले पहिलो किस्ता लिएका छन् । असार मसान्तभित्र पहिलो किस्ता नलिए त्यस्ता लाभग्राहीको नाम पनि सूचीबाट हटाइने प्राधिकरणले जनाएको छ ।

निजी आवास अनुदानको पहिलो किस्ता बापत लाभग्राहीले ५० हजार रुपैयाँ पाउँछन् । प्राधिकरणको मापदण्डअनुसार घरको जग हाली उनीहरु दोस्रो किस्ताको १ लाख ५० हजार रुपैयाँका लागि निवदेन दिन सक्छन् । प्राधिकरणले अनुदान सम्झौता गर्न तथा पहिलो किस्ता लिन लाभग्राहीलाई प्रोत्साहनका लागि स्थानीय तहहरुको सहयोगको अपेक्षा गरेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार