Sunday, September 29, 2024

न्यूरोड क्षेत्रमा पार्किङ गर्नु अगाडि तपाईले जान्नैपर्ने केही कुरा

काठमाडौँ- आजबाट नयाँ सडकको धर्मपथ र बिशालबजार अगाडिको भागमा स्मार्ट पार्किङ व्यवस्था शुरु भएको छ। । धर्मपथमा आइतबार आयोजना गरिएको बिशेष कार्यक्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले पिओयस मेसिनबाट क्युआर कोडसहितको बिल प्रिन्ट गरेर सेवा शुरु गरेका हुन्

महानगरले ब्हिल्स ट्रुली योर्स प्रा. लि. सँगको सहकार्यका यो सेवा शुरु गरेको हो । सेवा शुभारम्भपछि बोल्दै मेयर शाक्यले — स्थानीय र सरोकारवालासँग लामो समय छलफल गरेर सेवा सञ्चालन गर्ने निष्कर्षमा पुगेको बताए ।

शुरुवातमा नयाँ सडकका २ वटा खण्डमा शुरु गरिएको सेवालाई क्रमशः प्युखा, खिचापोखरी, धर्मपथ, पाको र दरबारमार्ग क्षेत्रमा बिस्तार गरिने बताउँदै प्रा. लि. का सूचना प्रविधि संयोजक हरिश अग्रवालले सेवाबाट सहरी पार्किङ अस्तव्यस्ततामा सुधार ल्याउन प्रयास गर्ने बताए ।

योजनामा रहेका सबै ठाउँ सञ्चालनमा आएपछि एकपटकमा करीव ८०० वटा मोटरसाइकल र ४० वटा गाडी पार्किङ गर्न सकिन्छ । ती ठाउँमा स्मार्ट अटोमेटेड पार्किङ सिस्टमबाट सञ्चालन हुनेछन् । नयाँ सडक जानु अघि उपभोक्ताले मोवाइलबाटै रियल टाइममा कुन ठाउँ खाली छ भनेर हेर्न र पार्किङ् गर्ने ठाउँ बुकिङ् गर्न सक्छन् । ठाउँ रिजर्भ नगरी पुग्नेले अगाडि राखिएको स्क्रिन हेरेर पार्किङ् गर्ने ठाउँ हेर्न सक्छन् ।

त्यस ठाउँको व्यवस्थापनका लागि गोप्रो क्यामरा सहितका पार्किङ् सहयोगीले सवारी चालकलाई सहयोग गर्नेछन् । उनीहरुसँग भएको क्यामराले त्यस क्षेत्रमा भएका गतिविधिलाई आवाजसहित रेकर्ड गरेर राख्न सक्छन् ।

पार्किङ गर्दा दुई पाङ्गे सवारीकालागि प्रति घण्टा २५ रुपैयाँ, चार पाङ्ग्रेका लागि प्रति घण्टा ८० रुपैयाँ शुल्क लाग्नेछ । यसरी संकलन गरिएको रकम सम्बन्धि रेकर्ड सिधै्र महानगरको प्रणालीमा जानेछ । यसबाट राजस्व छलि गर्ने सम्भावना नहुने अधिकारीको भनाइ छ ।

यो प्रणालीबाट पार्किङ स्थान बुकिङ् गर्न पार्क केटिएम मोवाइल एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । यो एप्लिकेसन एन्ड्रोइड र इओएस दुवै सिस्टमका मोवाइलमा उपलब्ध हुनेछ । यो एप्लिकेसनमा पार्किङ गर्ने ठाउँको उपलब्धताका बिषयमा जानकारी दिनेछ । त्यसै सूचनाका आधारमा पार्किङ गरिने सवारीको प्रकार (२ पाङ्ग्रे हो वा ४ पाङ्ग्रे हो) वटम थिचेर जानकारी दिनुपर्छ ।

यसपछि आफूले पार्किङ् गर्न चाहेको ठाउँ छनौट गर्ने ठाउँमा पुगिन्छ । त्यहाँ दिइएका ठाउँमध्ये आफूले चाहेको ठाउँमा बुकिङ गर्न सकिन्छ । यो प्रक्रिया वा बुकिङ गरिसकेको ठाउँ वा अन्य कुनै अन्योल भएका ९८०१५७१५४० टोल फ्रि नम्बरमा सम्पर्क गर्ने व्यवस्था गरिएको छ ।

स्रोतः महानगरपालिकको आधिकारिक अनलाइन काठमाडौं अनलाइन

ताजा समाचार

सम्बन्धित समाचार