काठमाडौँ – मौसम सफा भएसँगै केहीदिन यता काठमाडौँमा बढेकाे गर्मी भोली(सोमबार)देखि कम हुने भएको छ। काठमाडौँमा शुक्रबार ३३.५ डिग्री, शनिबार ३३, र आइतबार ३१ डिग्री सेल्सियस तापक्रम रहेकोमा सोमबारदेखि भने केही कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार भारतको विहारमा बनेको न्यून चापीय रेखाका कारण काठमाडौँको मौसम सफा भएकाले गर्मी बढेको हो। यसका साथै ‘अरेवियन सी’मा बनेको ‘वायु’ नामक चक्रपातले गर्दा पनि नेपालमा गर्मी बढेको उनको भनाइ छ ।
‘भारतको विहारमा बनेको न्यूनचापीय रेखाले गर्दा जलवाष्पयुक्त हावा बंगालमै रोकिएको छ,’ उनले भनिन्,‘यसले गर्दा नेपालको मौसम सफा भइ गर्मी बढेको हो ।’
उक्त प्रणालीका कारण पछिल्ला केही दिन मौसमी गतिविधि हुन नपाएको र जलवाष्पयुक्त हावा वहन नपाउँदा तापक्रममा वृद्धि भएको उनी बताउँछिन्।
हाल अरेवियन सागरमा बनिरहेको ‘वायु’ नामक चक्रपात भारतको मुम्बई तथा गुजराज क्षेत्रमा नपुगेसम्म तापक्रममा कमी नहुने उनले जनाइन्।
केही दिनयता बंगालबाट उत्तरपश्चिमतर्फ बहिरहेको हावा भोली(सोमबार)देखि उत्तरपूर्व हुँदै बहने संभावना रहेकाले ‘वायु’को असर भारतमा पर्ने र त्यसको प्रभाव नेपालमा समेत हुने भएकाले तापक्रममा कमी आउने उनको आँकलन छ।
मनसुनको टुंगो लागेन
सामान्यतया नेपालमा १० जुनदेखि मनसुन भित्रिनुपर्नेमा यो वर्ष ६ दिन बितिसक्दा पनि भित्रन सकेको छैन्। अरेवियन सागरमा बनेको चक्रपातले गर्दा जलवाष्पयुक्त हावा त्यसतर्फ नै धकेलिएकोले भारत लगायत नेपालमा मनसुन भित्रन ढिलाइ भएको मौसमविद बासी बताउँछिन्।
उनका अनुसार भारतको केरलामा १ जुनमा भित्रन पर्ने मनसुन ७ दिनपछि मात्र भित्रिएको छ। भारतमा भित्रिएको १० दिनपछि मनसुन पूर्वी भू–भाग हुँदै नेपाल प्रवेश गर्नुपर्नेमा विहारमा बनेको न्यून चापीय रेखा र ‘वायु’का कारण रोकिएको उनले बताइन्।
‘अहिले मनसुन भारतको मध्यभागमा नै केन्द्रित छ,’ उनले भनिन्, ‘वायुको कारण पनि मनसुन नेपाल भित्रन समय लाग्ने देखिन्छ त्यसैले यही बेलामा भित्रनसक्छ भनेर यकीनका साथ भन्न सक्ने स्थिति छैन्।’
हाल अरेवियन समुन्द्रमा बनेको चक्रपात(वायु)को असर कम नभएसम्म नेपालमा मनसुन प्रवेश गर्न कठिन देखिएकाे छ। मौसमविद बासी उक्त चक्रपातको असर बुधबारदेखि मात्र केही कम हुने भएकाले अन्य मौसमी गतिविधि नभएसम्म कुनैपनि कुराको यकीनका साथ अनुमान लगाउन नसकिने बताउँछिन्।
पछिल्लो केहीदिन देशको पश्चिमी क्षेत्र, धनगढी, नेपागञ्ज, दिपायललगायतको औसत तापक्रम ४४ डिग्री पुगेको छ भने काठमाडौँ तथा पूर्वी क्षेत्रमा ३० डिग्री सेल्सियसभन्दा माथि छ।





