काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
नयाँ पत्रिका
-आजको नयाँ पत्रिकामा जोखिमयुक्त २४ बस्ती स्थानान्तरण गरिने भन्ने शिर्षकमा मुना कुँवरको समाचार छापिएको छ। सहरी विकास मन्त्रालयले जोखिमयुक्त बस्ती स्थानान्तरण तथा एकीकृत बस्ती निर्माणका लागि सम्भावित २४ स्थानको पहिचान गरेको छ । सहरी विकास तथा भवन निर्माण विभागले ०७२ सालमा एकीकृत बस्ती विकास गर्न तत्कालीन पाँचवटै विकास क्षेत्रको प्रारम्भिक अवधारणापत्र तयार गरेको थियो । सोही अवधारणाका आधारमा मन्त्रालयले एकीकृत बस्ती विकास गर्न प्रस्ताव गरेको हो ।
-गाडी भाडा बढाउन करोडौँको चलखेल भन्ने शिर्षकमा जीवन बस्नेतको समाचार छापिएको छ। करोडौँ रुपैयाँको आर्थिक चलखेल र यातायात व्यवसायीको प्रभावमा परेर यातायात व्यवस्था विभागले बिहीबार दिउँसो ३ बजे यात्रुबाहक र मालबाहक सवारीसाधनमा २० प्रतिशत भाडा वृद्धिको निर्णय गर्यो । यसअघि गत दसैँको मुखमा १० प्रतिशत भाडा वृद्धि गरिएको ९ महिना नबित्दै भाडा वृद्धि गर्नुको कुनै वैज्ञानिक कारण थिएन । असोजको तुलनामा अहिले पेट्रोलको मूल्य ४ रुपैयाँ र डिजेलको मूल्य साढे २ रुपैयाँले घटेको छ ।
-पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकियो भन्ने शिर्षकमा समाचार छापिएको छ। भारतको मोतीहारीदेखि नेपालतर्फको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकिएको छ । भारतीय आयल कर्पोरेसन ९आइओसी०को लागतमा निर्माण भइरहेको पाइपलाइनको पहिलो चरणअन्तर्गत जमिन खनेर पाइप बिछ्याइएको हो । नेपाल आयल निगमले परियोजना कार्यान्वयन एकाइ स्थापना गरेर कामको सुपरिवेक्षण गरिरहेको छ । नेपाल आयल निगमका इन्जिनियर शरद पौडेलका अनुसार सबै पाइप बिछ्याइसकेर जडानको काम सुरु गरिएको छ । मोतीहारी–अमलेखगन्ज रुटमा ६९।९ किलोमिटरसम्म पाइप बिछ्याइएको छ । भारततर्फ मोतीहारीदेखि रक्सौलसम्म ३२।६५ किलोमिटर छ । त्यतापट्टि तीन महिनाअघि पाइप बिछ्याइसकिएको हो ।
-अन्नपूर्ण पोस्ट
आजको अन्नपूर्ण पोस्टमा जीटूजीबाट मल आउने सम्भावना न्यून भन्ने शिर्षकमा राजेश बर्माको समाचार छापिएको छ। सरकारले भारतबाट सरकारद्वारा सरकारसँग (जीटूजी) सुविधामा मल खरिद गर्न सकिने व्यवस्था गरे पनि किसानलाई चाहिने समयमा आउने सम्भावना न्यून देखिएको छ। जीटूजी सुविधाअन्तर्गत भारतसँग ३० हजार टन युरिया र २० हजार टन डीएपी खरिद गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषद् बैठकले गत साता स्वीकृत गरेको थियो।
-नागरिक
आजको नागरिकमा भारतबाट ५० हजार टन मल किन्दै सरकार भन्ने शिर्षकमा दिलीप पौडेलको समाचार छापिएको छ। बजारमा रासायनिक मल अभाव भएपछि सरकारले भारतीय सरकारसँग ‘जिटुजी’ गरेर ५० हजार टन रासायनिक मल खरिद गर्ने भएको छ। मन्त्रिपरिषद्को हालैको बैठकले भारतसँग जिटुजी गरेर रासायनिक मल खरिद गर्न कृषि तथा पशुपक्षी मन्त्रालयलाई अनुमति दिएको हो। यो अनुमतिपछि भारतका सरकारी कम्पनीबाट ५० हजार मेट्रिक टन रासायनिक मल किन्ने तयारी मन्त्रालयले गरेको हो।
राजधानी
-आजको राजधानीमा गाईघाट–दिक्तेल सिधा यातायात अबरूद्ध भन्ने शिर्षकमा ईश्वर तामाङको समाचार छापिएको छ। गाईघाट–दिक्तेल सोझो यातायात जोड्ने सगरमाथा लोकमार्गको फोक्सिन्टारस्थित सुनकोसीमा सञ्चालित बेलिब्रिज खोलेपछि सिधा यातायात टुटेको छ ।बेलिब्रिज खोलेपछि उदयपुर र खोटाङबीचको सोझो यातायात सम्पर्क टुटेको हो । ५० मिटर लम्बाइ र ५ मिटर चौडाइको बेलिब्रिज खोलिएपछि २ जिल्लाबीचको सोझो यातायात सेवा आउँदो ६ महिनाका लागि ठप्प भएको हो।
-तिरु सडक सञ्जालमा भन्ने शिर्षकमा समाचार छापिएको छ। हिमाली जिल्ला रसुवाको दुर्गम स्थान तिरु सडक सञ्जालमा जोडिएको छ । रसुवाको उत्तरगया गाउँपालिका–१ अन्तर्गतको तिरुमा मोटर बाटो पुगेसँगै एकीकृत बस्ती निर्माणकार्यले गति लिने भएको हो ।प्रदेश सभाको १ करोड र सांसद विकास कोषको ७० लाख गरी कुल १ करोड ७० लाख रुपैयाँको लागतमा साढे सात किलोमिटर सडकको निर्माण सम्पन्न गरिएको हो । तिरु सडकको निर्माणबाट गोगनेका समेत गरी ३ सय घरधुरी लाभान्वित हुनेछन्। बाटो निर्माणसँगै तिरुको ५८ रोपनी जमिनमा एकीकृत बस्ती निर्माण कार्य सुरु भएको छ।
-पेट्रोलियम पाइपलाइन सञ्चालनमा चुनौती भन्ने शिर्षकमा कौशिला कुँवरको समाचार छापिएको छ। राष्ट्रिय गौरवको परियोजना नेपाल–भारत सरकारको प्राथमिकतामा रहेको मोतीहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण कार्य अन्तिम चरण पुगे पनि पाइपलाइनबाट तेल आयात गर्न चुनौती देखिएको छ। अमलेखगन्ज–रक्सौल–मोतीहारी तेल पाइपलाइन परियोजनाअन्तर्गत नेपालतर्फको वीरगन्ज पथलैया व्यापारिक मार्गमा पर्ने अप्टिकल फाइबरको पाइपलाइन फुटेपछि पाइपलाइन आयातमा चुनौती देखिएको हो।
गोरखापत्र
-आजको गोरखापत्रमा आईतबारबाट स्मार्ट पार्किङ भन्ने शिर्षकमा चाँदनी हमालको समाचार छापिएको छ। राजधानीको अति व्यस्त बजार न्यूरोड र दरबारमार्ग क्षेत्रमा आईतबारबाट ‘स्मार्ट पार्किङ’ शुरु हुने भएको छ । अहिले यसको परिक्षण भइरहेको छ । स्मार्ट पार्किङ शुरु भएपछि सँधै पार्किङको समस्या हुने ती किनमेल वा घुमफिरका लागि जाँदै हुनुहुन्छ भने अब त्यो अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ । यो क्षेत्रमा जाने सवारीवाहक जो कोहीले अब पार्क केटिएम नामको एप्सबाटै आफ्नो सवारी पार्किङको सुविधा लिन सक्नेछन् ।





