Sunday, September 29, 2024

खुला आकाशमुनि रात काट्दै हुरीपीडित

कैलाली–धनगढी उपमहानगरपालिका–१७ का जोगी परियार दम्पत्तीकोे छानो अहिले आँपको रुख बनेको छ। उनीहरु विगत एक हप्तादेखि आँपको रुखमुनी बस्दै आएका छन्।

जेठ २३ गते राति ८ बजे परियारको घरमा खाना पासिसकेको थियो। खाना खानी तयारीमा लागेका उनीहरु घरभित्रै थिए। अचानक आएको विनाशकारी हावाहुरीले उनीहरुको घर पूर्णरुपमा क्षति गर्यो। घर ढल्दा जोगी बुढा घाइते भए। ‘अहिले हामी घरबिहीन भएका छौं। बास बस्नका लागि यही रुखको साहार छैं,’जोगी परियारले भने।

उनले आफ्नो उपचार त गरे। तर, घर हावाहुरीले तहसनहस पार्दा लागेको चोटमा स्थानीय सरकारले सामान्य मलम समेत लगाउन सकेको छैन। धनगढी उपमहानगरपालिका–१७ की पार्वती चौधरीको हावाहुरी घर भत्काइदियो। ‘हावाहुरी घर पुरै ढलेको छ। धन्न हामीहरुलाई केहि भएको छैन,’ उनले भनिन्,‘सरकारले बस्नका लागि त्रिपालसमेत दिएको छैन।’

त्यस्तै धनगढी उपमहानगरपालिका–६ का चतुर्भुज चौधरीको घरको छाना पनि हावाहुरी पुरै उडाएको छ। अहिले उनको परिवार खुला आकाशमुनि बस्न बाध्य छ। ‘अहिले सरकार गाउँमै छ भन्छन्। तर, हामीले यस्तो अवस्थामा पनि राहत पाउन सकेका छैनौं,’ चौधरीले भने।

जेठ २३ गते कैलाली र कञ्चनपुरमा आएको विनाशकारी हावाहुरीले सयौं परिवारको बिचल्ली भएको थियो। हावाहुरीका कारण घरविहीन भएका पीडितहरुलाई स्थानीय सरकार तथा प्रदेश सरकारले एक हप्ता बितिसक्दा पनि राहत दिन सकेको छैन।

कैलालीमा बढ्दो तापक्रमले विचल्लीमा परेका हावाहुरी पिडित टाउको जोगाउने ठाउँ समेत नभएको बताउँछन्। साझविहान लामखुट्टेको टोकाई दिउँसो तातो हावा र ४२ डिग्री सेल्सियस तापक्रममा हावाहुरी प्रभावित बस्न बाध्य छन्।

हावाहुरीले कैलालीमा २ हजार २१६ घरमा क्षति पु-याएको भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ। हावाहुरीले ७६ जना घाइते भएका छन् भने २ जनाको ज्यान गएको प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले बताए।

हावाहुरीले धनगढी उपमहानगरपालिका,गोदावरी नगरपालिका र कैलारी गाउँपालिकामा सबै भन्दा बढी क्षति पुराएको उनले बताए। उनले हालसम्म कैलालीमा हावाहुरी प्रभावितलाई ३५ सय टेन्ट, ६८ वटा जस्तापाता र मृतक परिवारलाई १ लाख राहत स्वरुप दिएको बताए। ‘पूर्णरुपमा तथ्यांक संकलन नहुँदा राहत वितरणमा समस्या भएको हो,’उनले भने,‘तथ्यांक संकलनपछि सबै प्रभावितले राहत पाउँछन्।’

सूदुरपश्चिम प्रदेश सरकारले हावाहुरीबाट मृतकका आफन्तलाई डेढ लाख, घर पूर्ण क्षति भएकालाई २० हजार र आंशिक क्षति भएकालाई १० हजार दिने निर्णय गरेको छ। त्यस्तै केन्द्र सरकारले पनि मृतकका परिवारलाई १ लाख दिने निर्णय गत बुधबार मात्र गरेको छ।

सांसद झपट रावलले कैलाली र कञ्चनपुरका हावाहुरीपीडित खुला आकाशमुनी बस्दै आएपनि सरकारको ध्यान जान नसकेको प्रति संसदमा ध्यानाकर्षण गराए। अवरुद्ध विद्युत सेवा सूचारु गर्नुपर्ने र पीडितलाई राहत उपलब्ध गराउनुपर्ने उनले माग गरे।

ताजा समाचार

सम्बन्धित समाचार