सगरमाथा आरोहणमा देखिएको समस्या अध्ययन गर्न बन्यो समिति

काठमाडौँ– यस वर्षको सगरमाथा आरोहरण अव्यस्थित भएको भनि चौतर्फी आलोचना भएपछि आरोहणमा देखिएका कमजोरी अध्ययन गरी आवश्यक नीतिगत, कानुनी, संरचनागत र कार्यविधिगत सुधारका लागि सुझाव दिन सरकारले एक समिति गठन गरेको छ।

यस वर्ष अघिल्ला वर्षहरूको तुलनामा अध्यधिक मात्रामा ट्राफिक जाम भएको थियो र आरोहणको क्रममा कम्तीमा ९ जना आरोहीको मृत्यु भएको थियो। विशेषतः सरकारी निकायबाट आरोहरण व्यवस्थापनमा कमजोरी भएको र अध्यधिक संख्यामा अनुमति संख्या दिइएको भनि केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमले सरकारको आलोचना गरेका छन्।

युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई वेलायति समाचार संस्था बिबिसिले यस विषयमा प्रश्न सोधेको थियो । त्यसमो जवाफमा ओलीले जामका कारण मृत्यु नभएको र यस विषयमा प्रोपोगण्डा फैलाइएको बताएका थिए । आरोहीको मृत्युको कारणबारे कुनै वैज्ञानिक अध्ययनविना स्वतः जामका कारण मृत्यु भएको भन्न नसकिने सरकारी अधिकारीहरूको तर्क छ ।

समिति केही दिन अगाडि नै गठन गरिएको दावी मन्त्रालयले गरेपनि त्यसको सार्वजनिकरण भने वुधवार मात्र गरेको हो। उक्त समितिमा नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जनशक्ति व्यस्थापन तथा पर्यटन प्रवद्र्घन महाशाखा प्रमुखको संयोजक रहनेछन् भने अन्य सरकारी अधिकारीहरू सदस्य रहने छन्।

यस वर्षको हिमाल आरोहणका लागि गएका अनुमति प्राप्त आरोहीहरू २८१ र आरोहीका सहयोगीहरू ३७८ समेत गरेर जम्मा ६५९ जनाले सगरमाथाको सफल आरोहण गरेको मन्त्रालयले जानकारी दिएको छ। यस क्रममा यस वर्षको वसन्तकालीन मौसममा सगरमाथामा ८ जनाको मृत्यु र १ जना हराइरहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यस आरोहरणमा विशेषगरी मौसम प्रतिकूल रहेको थियो र उपयुक्त समय एकदमै कम अवधिको भएका कारण पनि मे २२ एकैदिन अध्याधिक जाम भएको थियो। मे २२ एकै दिन झण्डै २५० जनाले सगरमाथाको आरोहरणा गरेका थिए। त्यस अगाडि मे १५ – १६ र त्यसपछि मे २३ देखि २७ सम्म उपयुक्त मौसम रहेपनि यस अवधिमा एकदमै कम आरोहीले आरोहरण गरेका थिए।

विभिन्न सञ्चार माध्यममा ट्राफिक जाम र अधिक अनुमति पत्रका कारण आरोहीको मृत्यु भएको तथा हराइरहेको भन्ने विषयलाई भने मन्त्रालयले ठाडै अस्वीकार गरेको छ। केही संचारमाध्यमले सगरमाथाको गरिमा र प्रतिष्ठामा आँच आउने गरी समाचार स्रपेषण गरेको दावी सरकारी अधिकारीको रहेको छ।

यस वर्षको सगरमाथा आरोही सदस्य संख्या ३८१ सन् २०१७ मा ३६६ रहेको भन्दा १५ जना बढी र सन् २०१८ मा ३४६ रहेको भन्दा ३५ जना मात्र बढी रहेको यस पर्यटन विभागको अभिलेखले देखाएको छ। सगरमाथा आरोहीहरूको मृत्यु अधिक अनुमति पत्रका कारण हो भन्नु विषय नरहेको तथ्य तथ्याङ्कले देखाएको सरकारी दाबी छ।

धेरै उचाई, प्रतिकूल मौसम तथा मौसमको सीमित अनुकूलता, अचानक मुर्छा पर्ने र शारीरिक कमजोरीका कारण मृत्यु भएको विवरण आफूलाई प्राप्त भएको विभागले दावी गरेको छ। यस समितिले हाल उठाइएका विषयका अतिरिक्त यससँग सम्बन्धित सबै विषयमा गम्भीरतापूर्वक अध्ययन गर्ने छ।

ताजा समाचार

सम्बन्धित समाचार