Sunday, September 29, 2024

७ बुँदे कार्ययोजना जारी गर्दै सकियाे दक्षिण एसियाली विपद् सम्मेलन

काठमाडौँ— सात बुँदे काठमाडौं कार्ययोजना जारी गर्दै विपद् व्यवस्थापन, पुनर्निर्माण, उर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहहरुको भूमिका सम्बन्धी दक्षिण एसियाली सम्मेलन मंगलबार सम्पन्न भएको छ ।

सम्मेलनले दक्षिण एसियामा विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापनामा दीगोपना र समावेशी उत्थानशीलताका लागि केन्द्रीय सरकार र स्थानीय तहहरुलाई सँगसँगै सहकार्य गर्न आग्रह गरेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपालमा विपद्पछिको पुनर्निर्माण र पुनर्स्थापनामा स्थानीय तहहरुसँग सहकार्य गर्दै जिम्मेवारी र अधिकार हस्तान्तरण गरेकाले महत्वपूर्ण उपलब्धीहरु हासिल भएको बताए।

कार्ययोजनामा नेपाल सरकारले स्थानीय तहमा गरेको सुधार र भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा गरेको प्रगतिलाई मनन गर्दै स्थानीय सरकारहरु तथा स्थानीय सरकारका संघहरुलाई राष्ट्रिय कार्यढाँचा अनुकुल आफ्नै विपद् जोखिम न्यूनीकरण नीति तथा रणनीतिहरु बनाउन प्रोत्साहित गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै, सफा र नवीकरणीय उर्जाका प्रावधानहरु सुनिश्चित गर्न जलवायु परिवर्तनका असरहरु न्यूनीकरणका लागि समुदायको सबैभन्दा नजिक रहने स्थानीय सरकारहरुलाई संलग्न गराउनुपर्ने आवश्यकता महसुस गर्न राष्ट्रिय सरकारलाई आह्वान गरिएको छ।

सम्मेलनले विश्वका मुद्दाहरुलाई स्थानीय तहमा लागु गर्नका लागि स्थानीय सरकारहरुको संस्थागत, संगठनात्मक, वित्तीय एवं प्राविधिक क्षमता अभिवृद्धि गर्न सहयोग गर्न आह्वान पनि गरेको छ।

त्यस्तै, स्थानीय सरकारहरुका नीति निर्माण, योजना तथा निर्णय प्रक्रियामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सुनिश्चित गर्न, निर्णय प्रक्रियामा महिला तथा जोखिमयुक्त वर्गहरुको अर्थपूर्ण सहभागिता वृद्धि गर्न राष्ट्रिय, प्रादेशिक तथा स्थानीय तहमा स्रोतहरु उपलब्ध गराउने कार्यको महत्वमाथि जोड दिएको छ ।

सम्मेलनले स्थानीय सरकारहरुमार्फत् दीगो विकास लक्ष्यहरु, शहरी मुद्दाहरु एवं विपद् जोखिम न्यूनीकरण सेण्डाई फ्रेमवर्कको प्रभावकारी स्थानीयकरणका लागि स्थानीय सरकारहरुलाई सबलीकरण गर्नुपर्नेमा जोड दिएको छ । सन् २०१५ मा जापानमा भएको सम्मेलनले विपद् न्यूनीकरणका लागि सन् २०३० सम्मको सेन्डाइ फ्रेमवर्क तयार पारेको थियो ।

त्यसैगरी, विश्वका मुद्दाहरुको स्थानीय स्तरमा प्रभावकारी कार्यान्वयनका अनुभव तथा सकरात्मक अभ्यासहरु साझेदारी गर्न दक्षिण एसियाका स्थानीय सरकार तथा तिनका संघहरुबीच सहयोग वृद्धि गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

सम्मेलनको सोमबार गृहमन्त्री रामबहादुर थापाले उद्घाटन गरेका थिए। सम्मेलनमा नेपालसहित भारत, चीन, पाकिस्तान, बंगलादेश, इण्डोनेसिया, श्रीलंकाका स्थानीय तहका जनप्रतिनिधिहरु एवं विज्ञहरुको सहभागिता थियो ।

ताजा समाचार

सम्बन्धित समाचार