थली–साँखु सडक तत्काल स्तरोन्नति गर्ने सहमति

काठमाडौँ– काठमाडौँको चाबहिल–साँखु सडकखण्ड अन्तर्गतको थली–साँखु सडक तत्काल स्तरोन्नति गर्ने सहमति भएको छ ।

सडक स्तरोन्नतिका लागि सङ्घर्ष समिति र नगरपालिकाबीच तीनबुँदे सहमति भएको हो।

कागेश्वरी मनोहरा नगरपालिकाको उपप्रमुख बिन्दु सिम्खडा पुडासैनी, नगर कार्यपालिका सदस्य बबिता दाहाल कुइँकेल र सङ्घर्ष समितिका तर्फबाट पवोल बज्राचार्य, निराजन नेपाल, मनिष सिम्खडालगायतबीच सहमति भएको जनाइएको छ।

आज (मंगलबार) बिहान सडक निर्माण शुरू गरिएको चार वर्ष बितिसक्दा पनि सडक नबनेको भन्दै थलीका स्थानीयवासी आन्दोलित भएका थिए।

वैशाखदेखि बौद्ध, जोरपाटी, नारायणटारको विभिन्न ठाउँमा कालोपत्र गर्न थालेको भए पनि थलीबाट साँखु जाने सडकखण्ड कालोपत्र नभएको भन्दै स्थानीयहरूले सडक खण्डको विभिन्न ठाउँमा टायर बाल्दै अनिश्चित समयसम्म बन्दको आह्वान गरेका थिए ।तर सडकखण्ड तत्काल स्तरोन्नति गर्ने सहमतिपछि आन्दोलन फिर्ता लिइएको छ ।

सम्झौतापत्रमा तत्काल बाटोमा भएको हिलो सोहोर्ने, एक हप्ताभित्र बाटो ग्रेडिङ गरी आवतजावत सहज बनाउने र चाँडोभन्दा चाँडो सडक निर्माणका लागि सम्बन्धित निकायमा पहल गर्ने सहमति भएको छ ।

थलीका स्थानीयहरूले ठेक्का लिएर काम नगर्ने ठेकेदारविरुद्ध कारवाही गर्न पनि माग गरेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार