फोक्सुन्डो पदयात्रा : हिमपहिरो बढेपछि डाेल्पालीलाई सास्ती (भिडियाेसहित)


काठमाडौँ
– २०६९ वैशाख २३ गते कास्कीको पोखरा हुँदै बग्ने सेती नदीमा भयानक बाढी आयो। त्यसमा परेर २८ जना सर्वसाधारणले ज्यान गुमाए। ३० जना बेपत्ता भए। ती बाहेक खारपानीका ८ घर नामनिसान नै नरहने गरी बगे। कारण थियो, अन्नपूर्ण चौँथौ शिखरभन्दा डेढ किलोमिटर दक्षिण करिब ६ हजार ८ सय मिटरमा अवस्थित चट्टान र बरफ ढिस्को सेती नदीमा खस्नु । उक्त बरफको ढिक्का खसेपछि सेती नदी थुनियो। पछि खुलेपछि त्यो बाढीको रुपमा परिणत भयो। त्यसले तल्लो तटमा विनाशलिला निम्त्यायो।

यसैगरी उच्च हिमाली तथा पहाडी क्षेत्रका नदी खोलाहरूमा हिमपहिरो खस्ने क्रम बढ्न थालेको छ। माथिल्लो तटमा हुने यस्ता प्राकृतिक विपत्तिले गर्दा तल्लो तटलाई तहसनहस पारिरहेको छ।

यस्तै दृश्यहरू देखियो, फोक्सुन्डो पदयात्रामा । प्राकृतिक रुपमा धेरै क्षतिहरू देखियो। भौतिक र मानवीय क्षति त देखिएन। तर, हिमपात र जाडो बढेपछि पुस १५ गते बेसी झरेका सर्वसाधारण विगतका दिनहरूमा जस्तै सजिलै माथि उक्लिन सकेनन। यसवर्ष उनीहरू अत्यधिक हिमपातले गर्दा विगतका वर्षहरू भन्दा करिब तीन साता ढिलो माथि उक्लिए। उनीहरू माथि उक्लिएको तीन साता सम्म पनि निकुञ्ज प्रशासन, सेनाहरू माथि उक्लिसकेका थिएनन।

लेखक : सुबाेध गाैतम

दुनैबाट नेपाल वातावरण पत्रकार समूहको टीम दुई दिन लगाएर माथि उक्लियो । फोक्सुन्डो खोलालाई दायाँ र बायाँ पार्दै हिउँ पहिरोहरू छिचोल्दै टोली माथि उक्लिरहेको थियो। खोलाको पश्चिम किनारमा रहेका पहाडमा टुप्पामा जम्मा भएका हिउँका डिस्काहरू खोलामा खसेर केही समय खोला समेत थुनिएको जानकारी स्थानियहरूले दिइरहेका थिए। खोला थुनिएको समाचार पनि आएका थिए।

यात्राका क्रममा ठाँउठाँउमा खोलाको पश्चिमतर्फ अवस्थित ठूला ठूला पहाडमा जमेका हिउँका ढिस्काहरू खसेका दृश्यहरू देखियो । ती ढिस्काहरूले खोला पुरेको र डिस्काहरू खोलामा पुलको रुपमा अड्किएका दृश्यहरू पनि देखिए। त्यसो त खोलाको पूर्वी किनारबाट पनि यस्ता ढिस्काहरू खसेका थिए। तुलनात्मक रुपमा खोलाका पश्चिम किनारबाट यस्ता पहिरोहरू धेरै थिए । पहिरोसँगै धेरै संख्यामा सल्लाका रुखहरू पनि विनाश भएको पाइयो । माथिबाट खसेका पहिरोहरूले सल्लाका रुखलाई समेत सोत्तर बनाएर खोलामा झारेका छन् । यसबाट भिरपाखाका सल्लाको वनको क्षति त्यत्तिकै छ।

विशेषगरी यस्ता पहिरोहरू फोक्सुन्डो उक्लिने क्रममा छेक्पादेखि सुन्ड्वा खण्डमा देखिन्छन् । यस पदमार्गमा फोक्सुन्डो खोलालाई दाँयाबायाँ पार्दै माथि उक्लिनु पर्ने हुन्छ। पदमार्गमा पर्ने बस्तीहरू पनि यही खोलाकै किनार र ढिकमा छन्। कतिपय स्थानमा स्थानीयहरूको घरबार हिउँ पहिरोबाट अलिकतिले जोगिएको समेत देखियो। घरको वरपर ठूलो हिउँ पहिरो गएको र त्यसले वनजंगल समेत विनाश गरेका दृश्य नेफेज टिमले फेला पार्‍यो। अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष अत्यधिक हिमपात भएको स्थानीयहरू बताउँछन्।

यसले गर्दा स्थानीयहरूको माथि उक्लिने समय पनि लम्बियो। विगतका वर्षहरूमा चैतपहिलो साता माथि उक्लिने सर्वसाधारणहरू यसपटक हिउँ धेरै परेका कारणले चैत २५ गते मात्र उक्लिए। उनीहरू सामान्यतया बेसीमा लगभग चार महिना बस्ने गर्थे । तर, यस पटक चार महिना पुरै बसेर मात्र उक्लिए। ‘हिउँ धेरे परेका कारणले चैत २५ गते मात्र माथि आइयो, १५ वर्षपछि अहिले सबैभन्दा धेरै हिउँ पर्‍यो’, सुन्ड्वास्थित सम्झना होटलका मालिक सेम्दुक रोकायाले भने। उनका अनुसार पदमार्गमा पर्ने उनको घरको झ्याल भन्दा माथिसम्म हिउँ परेको थियो।

अत्यधिक हिमपात र समयमै हिउँ नपग्लिएका कारण उनीहरू माथि आउन नसकेका हुन । पदयात्राको उल्लेखित खण्डमा चारदेखि आठ फिटसम्म हिउँ परेको उनीहरूको अनुभव छ । बेसी झरेका कतिपय सर्वसाधारणहरू अत्यधिक हिमपात भएको खबर पाएपछि आफ्नो घरबारको अवस्था बुझन माथि उक्लिने प्रयास गरेका थिए। ‘घर नजिकै हिउँ पहिरो आयो भन्ने थाहा पाएपछि जसोतसो अप्ठेरो बाटो छिचोल्दै हेर्न आएको थिए, आउँदा झ्याल भन्दा माथि सम्म हिउँ थियो’, रोकायाले भने, ‘हिउँ पन्छाएर सफा गरेर ढोका खोले र भित्र पसे । झ्यालको बाहिरको भाग पनि हिउँले पुरिएको थियो ।’

तर, उनीहरू पदमार्गमा अत्यधिक हिउँ जमेकोले गर्दा बीच बाटोबाटै फर्किएको बताउँछन्।  सुन्ड्वामा पश्चिमबाट आएर मिसिएको पुम्बो खोलामा वैशाख ११ गतेसम्म पनि धमिलो पानी बगिरहेको थियो। पुम्बोमा रहेका हिमालहरूमा गएको पहिरोका कारण पानी धमिलो भएको जानकारी युएसएड पानी परियोजनाका फोक्सुण्डो–सुलिगाँढ जलाधार क्षेत्र व्यवस्थापन विज्ञ आङबहादुर लामाले दिएका थिए।

फोक्सुन्डो गाँउपालिका ९ स्याङटास्थित झरना होटलका मालिक छेवाङले मान्छेको घाँटीघाँटीसम्म हिउँ परेको अनुभव सुनाए । उनले बाटोको हिउँ पन्छाएर आफू माथि आइपुगेको सुनाए। ‘हिउँ धेरे पर्दा चौरी पालनमा समस्या भयो। चौरीलाई घाँस खुवाउन पाएनौं । गोठमा बाँधेर पाल्नु पर्यो’, उनले भने।

नेफेज टीम फेक्सुन्डो पुग्दा वैशाख १२ गते साँझसम्म उपल्लो डोल्पाको पदयात्रा खुलेको थिएन। पदयात्रामा अत्यधिक हिउँ जमेकाले गर्दा माथिका सर्वसाधारण माथिनै र तलका तलै बसेका थिए । विदेशी पाहुना लिएर आएका पथ प्रदर्शकहरू फोक्सुन्डोको रिग्मो गाँउबाट पदयात्राको अवस्था बुझ्न माथि उक्लिदा बीचबाटो बाटै फर्किएका थिए। उपल्लो डोल्पाबाट उपल्लो मुस्ताङसम्म पदयात्रा गर्न आएका विदेशीहरूको ठूलो समूह रिग्मो गाँउमा बास बसेर त्यहीबाट तल झरेको थियो।

हरेक वर्ष यसैगरी र यो भन्दा धेरै हिमपात हुने हो भने यसले तल्लो तटीय क्षेत्रमा मानवीय तथा भौतिक क्षति नपार्ला भन्न सकिदैन । फोक्सुन्डो खोला दुवै किनारमा बस्तीहरू छन्। सुलिगाढमा निकुञ्जको प्रधान कार्यालय र सेनाको गुल्म पनि छ। केही गरी फोक्सुन्डो खोला यसैगरी हिमपहिरोबाट बुझियो भने त्यसले सुलिगाढसम्म क्षति पुर्याउन सक्ने देखिन्छ। सुलिगाढमा दुनै हुँदै आउने ठूली भेरी नदी र फोक्सुन्डो खोला मिसिन्छ। दुई खोलाको संगम स्थल हो, सुलिगाढ । सेती नदीमा आएको जस्तो बाढी सुलिगाढमा नआउला भन्न सकिन्न। त्यसैले तल्लो तटीय क्षेत्र र फोक्सुन्डो खोला किनारमा भएका बस्तीहरूलाई सुरक्षित राख्ने तर्फ सबैको ध्यान जानुपर्ने देखिन्छ। खोला किनारका बस्ती र सुलिगाढका भौतिक पूर्वाधार निर्माण गर्दा हिउँ पहिरोको संभावित जोखिमलाई समेत ध्यान दिनुपर्ने देखिन्छ।

ताजा समाचार

सम्बन्धित समाचार