काठमाडौँ– यस वर्षको मनसुन नेपाल भित्रन अझै केही दिन लाग्ने भएको छ। सामान्यतया नेपालमा जुन १० बाट मनसुन प्रवेश गर्ने गरे पनि यसपाली भने एक साता पछि मात्र भित्रने मौसमविद्को भनाइ छ।
मौसमविद् वरुण पौडेलका अनुसार मनसुन विस्तारै बंगालमा सक्रिय बन्दै गएको छ, देशका पूर्वी क्षेत्रमा यसको थोरै गतिविधि देखिन्छ। पश्चिमी वायुको प्रभाव देखिएकाले मनसुन सक्रिय हुन एक साता लाग्ने देखिएको छ।
‘मनसुन भित्रिनका लागि जुन खालको वातावरण हुनुपर्ने हो त्यो बनिसकेको छैन विस्तारै बन्ने क्रममा छ,’ उनले भने।
मनसुन प्रवेश गर्नका लागि स्थानीय हावाभन्दा पनि मनसुनी हावाको प्रभाव बढी हुनुपर्छ तर अहिले स्थानीय वायुको प्रभावले दिनभर घाम लाग्ने तथा बिहान, बेलुका र रातिको समयमा मेघ गर्जनसहित वर्षा भइरहेको छ।
नेपालमा मनसुन भित्रिनका लागि दक्षिण पूर्वी हावा बङ्गालको खाडीबाट वायुमण्डलको तल्लो सतहदेखि करीब छ किलोमिटर माथिसम्म मनसुनी हावा प्रवेश हुनुपर्छ तर अहिले वायुमण्डलको तल्लो सतहमा मात्र त्यस्तो हावाको प्रवेश देखिएको छ । माथिल्लो सतहसम्म पुगेको छैन्। जलवाष्युक्त हावाको वायुमण्डलको माथिल्लो सतहसम्म प्रभाव कायम रहेमा मनसुन शुरु हुने मौसमविद् पौडेलले बताए।
मनसुनको समयावधिका चार महिनामा कुल वार्षिक वर्षाको ८० प्रतिशतसम्म वर्षा हुने अनुमान गरिएको उनको भनाइ छ।
उनका अनुसार ३० वर्षको औसत वर्षाको ९० देखि ११० प्रतिशतसम्मको अवस्थालाई औसत र ९० प्रतिशत भन्दा कमलाई औसत भन्दा कम वर्षा र ११० प्रतिशत भन्दा बढीलाई औसत भन्दा बढी वर्षा भन्ने गरिन्छ।
प्रि–मनसुनको अन्तिम धेरै ठाँउमा पानी परिरहेको छ तर प्रि–मनसुनको पानीले मनसुनको पानीलाई खासै असर नगर्ने पौडेलले दाबी गरे। ‘पानी पर्ने प्रणाली फरक–फरक हुन्छ,’ उनले भने, ‘प्रि–मनसुनको प्रभाव मनसुनमा हुँदैन्।’ गत वर्ष जुन ८ बाट मनसुन शुरू भएकाे थियाे ।





