डडेल्धुरा–निर्माण शुरू भएको तीन दशकपछि डडेल्धुराको उग्रतारा मेलौली सडक कालोपत्र हुन थालेको छ ।
डडेल्धुराको उग्रतारा मन्दिरदेखि बैतडीको पञ्चेश्वर गाउँपालिकासम्मको यस सडकको कूल लम्वाईमध्ये आठ किलोमिटर सडकको कालोपत्र गर्ने काम शुरू भएको छ । पूर्वाधार विकास कार्यालय डडेल्धुराको कूल १२ करोड ४५ लाखको लागतमा कालापत्रे हुन थालेको छ ।
‘डिविएस टि’ प्रविधिमा कालोपत्र हुन थालेको सडकको कालोपत्र भने पाँच मिटर चौडाइ रहने पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख रामचन्द्र खत्रीले बताए ।
चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी काम भइरहेको सो कामको जिम्मेवारी पाएको राजेन्द्र केएस निर्माण सेवाले बताएको छ । निर्धारीत आठ किलोमिटर सडक कालोपत्र भए अजयमेरू गाउँपालिका–१ र २ का स्थानीय बासिन्दालाई जिल्ला सदरमुकामसम्म आवतजावत गर्न सहज हुनेछ।
अजयमेरू गाउँपालिका सहित बैतडी जिल्लाका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका स्थानीयवासी लाभान्वित हुने गरी यो सडकको निर्माण शुरू गरिएको थियो। रासस





