काठमाडौँ– ललितपुरको पुल्चोकस्थित मन्त्रीनिवास परिसरको सरसफाइ गरिएको छ ।
विश्व वातावरण दिवस २०१९ को अवसर पारेर वन तथा वातावरण मन्त्रालयको अग्रसरतामा आज आइतबार बिहान मन्त्रीनिवास परिसर क्षेत्रको सरसफाइ गरिएको हो। पुल्चोकदेखि शुरु भएको सरसफाइ मन्त्री निवास पुगेर समापन भएको थियो ।
प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्नुभएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेतृत्व गरेका सरसफाइ कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, गृहमन्त्री रामबहादुर थापा, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री डा युवराज खतिवडा सहभागीता रहेको थियो ।
विभिन्न मन्त्रालयका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीकोसमेत सरसफाइ अभियानमा सहभागिता रहेको थियो ।
यस वर्ष ‘स्वच्छ वायु स्वस्थ जीवन’ भन्ने नाराका साथ साताव्यापी रुपमा विविध जनचेतनामूलक कार्यक्रम गरी वन मन्त्रालयले विश्व वातावरण दिवस मनाइरहेको छ ।





