खिमडी,कैलाली : गर्मी मौसममा पानीमा डुबुल्की लगाउँदै माछा मार्नुको मज्जा अरू के होला र ? पानीमा पौडिँदै माछा मार्न नसके पनि माछा मार्नेहरूको तस्बिर लिनुमा पनि बेग्लै मज्जा हुँदोरहेछ । तर माछा मार्ने गलत अभ्यास देखियो भने जलचर संरक्षणकर्मीलाई असह्य पीडा हुन्छ । प्रदेश नम्बर ७ मा पर्ने ठूलीगाढ नदीमा माछा मार्नेहरू बालक , महिलादेखि वृद्धसम्मका व्यक्तिहरू भेट्न सकिन्छ ।

परम्परागत जाल र बल्छीको प्रयोगबाट भन्दा बढी विनाशकारी तरिकाले माछा मार्नेहरूको सङ्ख्यामा वृद्धि हुँदैगएको छ । खोलामा करेन्ट लगाउने, विषादी हाल्ने, जङ्गली जडिबुटी मिसाएर विषादी बनाउने, खोला नै फर्काउने वा थुनेर माछा मार्ने गैरकानुनी कार्य पछिल्लो समय ठूलीगाढमा बढ्दै गएको देख्न सकिन्छ ।
डोटी र कैलाली जिल्लालाई छुट्टाउने ठूलीगाढ जलाधारको कूल जलनिकास घनत्व ९३५ मि रक्युबिक किमी र यस जलाधारको कूल क्षेत्रफल ८५० क्युबिक किमी रहेको छ । डोटी जिल्लाका जोरायल र बडिकेदार गाउँपालिका र कैलाली जिल्लाका चुरे र मोहन्याल गाउँपालिकामा ठूलीगाढ बग्ने गर्दछ । यो कर्णाली नदीमा गएर मिसिन्छ ।

यस जलाधार क्षेत्रमा माछाका २७ प्रजातिहरू र १६ जल वनस्पतिहरू रहेको उल्लेख गरिएको छ । ती प्रजातिहरू मध्ये सहर, जेब्रा माछा, बुचे असला, असला सोल, चुच्चे असला र राजाबाम व्यापारिक रूपमा स्थानीय माछाहरूका मूल्यवान् प्रजाति हुन् । तर विनाशकारी रूपमा सानादेखि ठूलासम्म सबै माछा मार्ने कार्यले दिनप्रतिदिन माछाको सङ्ख्यामा कमी हुनुका साथै केही प्रजाति लोप हुने अवस्थामा पुगेका छन् ।










