बाजुरा– जिल्ला सदरमुकाम मार्तडीको चक्रपथ समयमै नबन्दा जिल्ला अस्पताल जाने आउने बिरामीलाई समस्या हुने गरेको छ। बीच बजारमा निर्माणाधीन रहेको चक्रपथ समयमै निर्माण हुन नसक्दा समस्या भएको हो।
वर्षात् शुरु भइसक्दा पनि ठेकेदारले काम नगरेको र सडकका खाल्डामा पानी जमेर हिलाम्मे भएका कारण बजारदेखि अस्पताल जाने आउने बिरामीलाई थप समस्या भएको छ । सदरमुकाम मार्तडीको बीच बजारमा रहेका तीन सडक अस्तव्यस्त अवस्थामा छन् । बीच बजारमा रहेको ३५४ मिटर सडक र तुफानडाँडादेखि त्रिवेणी चोकसम्मको करीब ५०० मिटर सडक अस्तव्यस्त बन्दै गएको छ।
माथिल्लो बजारमा रहेको सडकको बीच बजारमा हटाउनुपर्ने घर, बिजुलीको पोल नहटाउँदा बीच बजारमा सडक निर्माण अस्तव्यस्त बन्दा बिरामीलाई समस्या भएको स्थानीयले बताएका छन् । बडिमालिका नगरपालिकाले निर्माण गर्न थालेको डिभिजन वन कार्यालयदेखि जिल्ला अस्पतालसम्म १७० मिटर सडक र गौँडाडिलदेखि खुलामञ्चसम्मको १८४ मिटर सडक ठेकेदार कम्पनीले काम नगर्दा हिलाम्मे र अस्तव्यस्त बनेको छ।
सडक निर्माणकार्य भएको महीनौँ बितिसक्दा पनि निर्माणको जिम्मा लिएका कम्पनीले समयमै सडक निर्माण नगर्दा सो क्षेत्र जाने बाटो हिलाम्मे छ । हिलोका कारण बजारमा आवतजावत गर्ने विद्यार्थी, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्तिले निकै सास्ती भोग्नुपरेको छ । सडक निर्माणकार्य अधुरै छाडेर ठेकेदारले काम नगर्दा सडक आसपासका पसल र होटल व्यवसायीले समेत हैरानी खेप्दै आएका छन्।
अहिले सडक निर्माण ढिलाइ हुँदै गएको छ । नगरपालिकाले समयमैै सडक निर्माण गरेको भए आवतजावत गर्न र व्यापारीसमेत ढुक्क हुने नगरपालिकाले दाबी गर्दै आएको छ । सडक छेउछाउका घरधनीले समयमै बाटो खाली नगर्दा केही समस्या भएको तर केही दिनमा निर्माण सम्पन्न हुने नहुनेमा आफू ढुक्क नभएको नगरप्रमुख पदम बडुवालले बताए।
सडक नबन्दा जिल्ला अस्पताल बाजुराको भवन निर्माणमा समेत अवरोध पुगेको छ । हाल जिल्ला अस्पताल नयाँ निमार्ण हुने भएकाले पुराना संरचना सबै भवन कम्पनीले यसअघि नै भत्काएको छ । बिरामी राख्ने ठाउँसमेत नभएकाले समस्या भएको हो।रासस





