बर्दिया–बिहीबार (हिजो) राति आएको हावाहुरीले बर्दियामा तीन जना घाइते हुनुका साथै झण्डै चार दर्जन घरमा क्षति भएको छ।
जिल्ला प्रहरी कार्यलयका अनुसार राजापुर नगरपालिका–२ का २० वर्षीया अनु थारूको टाउकोमा चोट लागेको छ भने नै बासगढी नगरपालिका २७ वर्षीया सुनिता विक र निजका पाँच वर्षीय छोरा नारायण विकको हातखुट्टामा चोट लागेको छ।
घाइते विक र थारूको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचार भइरहेको जनाइएको छ । करीब एक घण्टा चलेको हुरीले जिल्लाको जनजीवन प्रभावित भएको छ । हावाहुरीको समयमा घरका जस्तापाता लागेर र घरको भित्ता ढलेर घाइते भएका हुन्।
हावाहुरीेले राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका, मधुवन नगरपालिका, बासगढी नगरपालिका र गेरुवा गाउँपालिकामा बढी क्षति पु¥याएको छ । हावाहुरीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेकाले क्षतिको यकिन विवरण आउन बाँकी छ । हाल जिल्लाभर विद्युत् आपूर्ति ठप्प छ । टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएका छन्।





