Sunday, September 29, 2024

कैलाली, कञ्चनपुरमा विनासकारी हावाहुरी

कैलालीमा २ जनाको मृत्यु, ७८ जना घाइते
कञ्चनपुरमा २३ जना घाइते, १ जना गम्भीर घाइते
महेन्द्रनगर–२४ जेठ । कैलाली र कञ्चनपुरमा बिहीबार साँझ आएको हावाहुरीका कारण अहिलेसम्म २ जनाको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिकामा एक जना र टीकापुर नगरपालिकामा एक जना गरी २ जनाको मुत्यु भएको हो ।

मृत्यु हुनेमा गोदावरी नगरपालिका ४ का वीरबहादुर चौधरी र टीकापुर नगरपालिका २ का लहानु डंगौरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीले बताए ।

उनका अनुसार चौधरीको हावाहुरीका बेला मोटरसाइकल चलाउने क्रममा टिपरमा ठोक्किँदा मृत्यु भएको हो भने डंगौराको कुखुरा फार्ममा रहेको पर्खाल भत्किँदा मृत्यु भएको हो । हावाहुरीका कारण अहिलेसम्म कैलालीमा ७८ जना घाइते भएको प्रहरी उपरीक्षक सुदीप गिरीले बताए ।

उनका अनुसार गम्भीर घाइते ४ जनालाई उपचारका लागि भारत पठाइएको छ । ‘क्षतिको थप विवरण संकलन भइरहेको छ, घटनाको थप विवरण संकलन गर्न विभिन्न स्थानमा टोली परिचालन गरेका छांै,’ उनले भने । यसैगरि बिहीबार साँझ आएको विनासकारी हावाहुरीका कारण कञ्चनपुरमा अहिलेसम्म २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले बताए ।

उनका अनुसार १५ जना घाइतेको महाकाली अञ्चल अस्पतालमा समान्य उपचारपछि घर पठाइएको छ । हावाहुरीका कारण कञ्चनपुरमा एक जना गम्भीर घाइते भएको प्रहरी नायव उपरिक्षक विष्टले बताए । उनका अनुसार बेदकोट नगरपालिका–९ का ११ बर्षिय प्राप्ती विष्ट गम्भीर घाइते भएकी छन् । उनको थप उपचारको लागि सेती अञ्चल अस्पतालमा पठाएको छ ।

अहिलेसम्म महाकाली अञ्चल अस्पतालले कञ्चनपुरका ८ जनालाई थप उपचारका लागि धनगढी रेफर गरेको छ । हावाहुरीले कैलाली कञ्चनपुर विद्युत सेवा पूर्ण रुपमा अबरुद्ध भएको छ । अधिकांस कच्चि घरका छानो हावाले उडाएको छ । प्रहरी, सशस्त्र प्रहरी र जनप्रतिनिधिले आ–आफ्नो क्षेत्रमा क्षतिको विवरण संकलन गर्ने कार्य गरिरहेका छन् ।


तस्बिर ः हावाहुरीका कारण घाइते भएका बिरामी महाकाली अञ्चल अस्पतालमा उपचार गराउँदै ।

ताजा समाचार

सम्बन्धित समाचार