विश्व वातावरण दिवसमा राष्ट्रपतिले भनिन्, ‘हामीलाई नखाएको विष लाग्यो’(भिडियाे)


काठमाडौँ
– राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले गर्दै नगरेको अपराधको सजाय भोगिरहेको बताएकी छिन्।

विश्व वातावरण दिवस २०७६को अवसरमा वन तथा वातावरण मन्त्रालयले नेपालगञ्जमा आयोजना गरेको दुई दिने गोष्ठीको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपाल हरितगृह ग्यास न्यून उत्सर्जन गर्ने राष्ट्र भएपनि गर्दै नगरेको अपराधको सजायँ भोग्नु परिरहेको बताइन्।

यस विषयमा आफूले पोल्याण्डमा सम्पन्न जलवायु सम्बन्धी सम्मेलनमा जानकारी गराएको बताउँदै उनले भनिन्, ‘ नेपाल हरितगृह ग्यास न्यून उत्सर्जन गर्ने राष्ट्र हो । तर, हामीले नखाएको विष लाग्ने भनेझैँ अन्य देशले गरेको उत्सर्जनको सजायँ भोगिरहेका छौँ ।’

वातावरण संरक्षण तथा जलवायु परिवर्तन विषयक राष्ट्रिय कार्यशाला गोष्ठीको मुख्य उद्देश्य वातावरण र जलवायु परिवर्तनका मुद्दाहरू सम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने, वातावरण र जलवायु परिवर्तन व्यवस्थापनको क्षेत्रमा भए गरेका नीतिगत एवम् कार्यगत अनुभव र असल अभ्यासहरू सरोकारवालाहरूबीच आदान प्रदान गर्ने तथा वातावरण संरक्षण र जलवायु परिवर्तन व्यवस्थापनको भावी कार्यदिशा सम्बन्धमा सरोकारवालाको बीचमा साझा बुझाई स्थापित गर्ने रहेको वन मन्त्रालयको भनाइ छ ।

उक्त गोष्ठीमा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त गोष्ठीको आयोजनाले स्थानीयवासीलाई वातावरणको क्षेत्रमा चेतना अभिवृद्धि गर्नुका साथै जलवायु अनुकुलनमा जागरुक बनाउन सहयोग पुर्याउने बताइन।

कार्यक्रममा बोल्दै उनले विभिन्न नीति नियम बनाएपनि कार्यान्वयन पक्ष भने फितलो रहेकोले यसमा सबैले ध्यान दिनुपर्ने जनाइन ।

यसपालीको विश्व वातावरण दिवसको नारा ‘स्वच्छ वायु, स्वस्थ जीवन’ अत्यन्त सामूहिक र जीवन उपयोगी भएको र मानव जाती तथा सबै प्राणीले स्वास नफेरी बस्न नसक्ने हुनाले हामी सबैले स्वच्छ वायु कायम गर्नु संवेदशील तथा साझा दायित्व भएको उनकाे बुझाइ छ ।

वातावरण स्वच्छ नभएकाले हामीले पानी तथा अन्य क्षेत्रमा समस्या भोग्दै आएको उनी बताउँछिन्। त्यसैगरी कार्यक्रममा बोल्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण सम्बन्धी जनचेतना फैलाउन केन्द्रीय स्तरमा मात्र नभइ गाउँ गाउँमा गोष्ठी तथा विभिन्न कार्यक्रमको आयोजना गर्नुपर्ने बताए।

कार्यक्रममा नेपालको शहरी क्षेत्रमा वायू प्रदूषणको अवस्था, कारण, प्रभाव तथा न्यूनिकरणका प्रयासहरूका विषयमा प्रस्तुती दिँदै वातावरण विभागका सूचना अधिकारी शंकर पौडेलले घरायसी प्रदूषण कम गर्न सके मात्र वातावरणीय प्रदूषण कम गर्न सक्ने जनाए ।

ताजा समाचार

सम्बन्धित समाचार