Sunday, September 29, 2024

वातावरण दिवसमा वृक्षारोपण

भक्तपुर –खानेपानी मन्त्री विना मगरले ४६ औं विश्व वातावरण दिवसको अवसमा सूर्यविनायक नगरपालिका स्थित गणेश मन्दिरमा वृक्षारोपण तथा हरित पार्कको शिलान्यास गरेकी छिन्।

हनुमन्ते नदी सफाइ अभियानले गणेश मन्दिर परिसरमा आयोजना गरेको वृक्षारोपण एवं पार्क शिलान्यासको खानेपानी मन्त्री मगरबाट शुभारम्भ गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले वातावरण संरक्षण र फोहोर न्युनीकरणमा घर टोल, छिमेक र सिङ्गो समाजको महत्त्वपूर्ण भूमिका हुने भएकाले सबै जागरुक हुनुपर्ने बताइन्। उनले फोहोरको व्यवस्थापन घरबाट नै सुरु गर्नुपर्नेमा जोड दिइन्।

‘हामीले हप्तौं हप्तादेखि सरसफाइ अभियान चलाईरहेका छौँ,’मन्त्री मगरले भनिन्,‘सरसफाइ अभियान चलाइ रहनुपर्ने स्थिति आउन नदिन सकेसम्म घरबाटै यसको अन्त्य गर्नुपर्दछ। सरसफाइ अभियान सधैँ गरिरहन नपरोस्।’

प्रतिनिधि सभा सदस्य एवं पूर्व उद्योग मन्त्री महेश बस्नेतले वातावरण सफा गरे झैँ सबैले मन सफा गर्नुपर्ने धारणा राखे। हाम्रो भावना र सोचाई प्रायः नकारात्मक भएकाले यसको सफाइमा जोड दिनुपर्ने बताए।

कार्यक्रममा हनुमन्ते खोला लगायत भक्तपुर क्षेत्रको सरसफाइ अभियानमा निरन्तर योगदान पुर्‍याएको भनी प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो।

‘स्वच्छ वायु, स्वस्थ जीवन’ भन्ने मूल नाराका साथ आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा जनप्रतिनिधि, स्थानीय नगरपालिकाहरू, विभिन्न सामाजिक सङ्घ संस्था र सुरक्षाकर्मीलगायत सरसफाइ अभियन्ताहरूको ठुलो सङ्ख्यामा उपस्थिति रहेको थियो।

ताजा समाचार

सम्बन्धित समाचार