Sunday, September 29, 2024

सर्वसाधारण भन्छन्ः वायु प्रदूषणले श्वास फेर्न कठिन

काठमाडौँ- आज विश्व वातावरण दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी वातावरण दिवस मनाइँदै छ । विश्वका प्रदूषित सहरमध्येको एक काठमाडौँमा पनि विभिन्न कार्यक्रम गरि वातावरण दिवस मनाइँदैछ ।

पछिल्लो समयमा वायु प्रदुषण वातावरणको प्रमुख समस्या बन्दै गइरहेको छ । बढ्दै गइरहेको प्रदूषणले रोग तथा विभिन्न समस्याहरू निम्त्याउने भएको कारण जैविक विविधतासँगै सर्वसाधारणको जीवन पनि कष्टकर बनेको छ ।

वनजङ्गल विनाश, सवारी साधनबाट निस्कने धुवाँ र मानव निर्मित फोहोर–मैला आदिले यहाँको हावापानी प्रदूषित बनेको छ । काठमाडौँमा धुलो तथा धुवाँ को मात्रा बढ्दै गएको कारण यसलाई सर्वसाधारणले “धुलोमाण्डु” भनेर नामाकरण गर्न थालिसकेका छन् । तर, यहाँको सडकमा हिँड्न मास्कको प्रयोग मात्र उपयुक्त देखिदैन ।

त्यसैले काठमाडौँमा सर्वसाधारणले भोगेका मुख्य समस्या र त्यसलाई सम्बोधन गर्न सरकारले के गर्नुपर्छ भनेर हाकाहाकीकर्मी दिपाञ्जली खड्काले सर्वसाधारणसँग गरेको कुराकानी हाकाहाकी जनमतमा जस्ताको त्यस्तैः

दिनेश शाक्य, ललितपुर : मैले अनुभव गरे अनुसार काठमाडौँको वातावरणमा अहिले देखिएको मुख्य समस्या भनेको वायु प्रदूषण नै हो । इन्धनबाट निस्कने धुवाँले यहाँको वातावरणलाई धेरै असर गरेको छ । यो समस्यालाई समाधान गर्न सरकारले सवारीसाधन सीमित गर्नुको साथै विद्युतीय सवारीसाधनलाई प्रयोगमा ल्याउने प्रयास गर्नुपर्छ ।

जितेन्द्र शाह, काठमाडौँ : काठमाडौँमा देखिने मुख्य वातावरणीय समस्या भनेको फोहोर–मैला नै हो । बाटोमा जथाभावी फालिएको फोहोरको दूर्गन्धले हिँड्नै सकिँदैन । त्यसैले महानगरपालिका लगायत स्थानीय तहबाट पनि समाधान गर्न जनचेतना फैलाउनु पर्छ ।

सविता कार्की, ललितपुर : काठमाडौँमा मैले हरेक दिन भोगेको मुख्य समस्या भनेको वायु प्रदूषण हो । यहाँको प्रदूषित वातावरणमा स्वास फेर्न निकै गाह्रो भएको छ । बढ्दो सवारी साधनको चापले यहाँको वायु प्रदूषित बन्दै गएको छ । प्रदुषणमा रोक लगाउन सरकारले कडा कानुन बनाउनु पर्दछ । जसको कारण समस्याको समाधान हुन्छ, जसले प्रदुषणमा सुधार आउँछ ।


हरिबहादुर सिंह, काठमाडौँ :
काठमाडौँको वातावरणमा फैलिरहेको प्रदूिषत वायु हाम्रो जीवनमा घातक बन्न पुगेको छ । इन्धन मात्र नभई सडक–भवन निर्माण कार्यहरूबाट निस्किने धुलो तथा धुँवाले पनि यहाँको वातावरणलाई प्रदूषित बनाएको छ । यस्ता गम्भीर किसिमका समस्याबाट मुक्त हुनको लागी सरकारले निमार्ण कार्य समयमै सक्नुपर्छ र पुराना सवारीसाधन हटाई विद्युतीय सवारीसाधन प्रयोगमा ल्याउन सर्वसाधारणलाई प्रोत्साहन गर्नुपर्छ ।

ताजा समाचार

सम्बन्धित समाचार