भद्रपुर–विश्व वातावरण दिवसका अवसर पारेर आज (बुधबार) चन्द्रगढी सामुदायिक वनको परिसरमा जिल्लाका सबै सरकारी कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्थानीयवासी भएर वृक्षारोपण गरेका छन्।
डिभिजन वन कार्यालय र सामुदायिक वनको संयुक्तरूपमा आयोजित कार्यक्रममा पानीसाझ र लामपाते जातका बिरुवा रोपिएको छ । १२ बिघा क्षेत्रफलमा रहेको सो सामुदायिक वनको चार बिघा जग्गामा प्रदेश नं १ का सांसद गोपाल बुढाथोकी, जिल्ला समन्यव समितिका संयोजक सोेमनाथ पार्तेल, प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललगायत जिल्लाका सबै कार्यालयका प्रमुखले बिरुवा रोपेका हुन्।
बिरुवा रोपेर त्यसै नछाड्न आग्रह गर्दै सांसद बुढाथोकीले निरन्तर अनुगमन र बिरुवाकोे रेखदेख गर्न सामुदायिक वनका कर्मचारी र पदाधिकारीलाई अनुरोध गरेका छन्।
डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले ताप्लेजुङ जिल्लाबाट मगाएर झापामा परीक्षणका लागि लामपाते जातको बिरुवा चाँडै हुर्कने, काठ पनि राम्रो हुने र अक्सिजन बढी दिने हुँदा रोपिएको बताए।
कार्यक्रमैस्थलमै डिभिजन वन कार्यालयले प्रत्येक व्यक्तिलाई मेवा, आँप, लिचीलगायत बिरुवा वितरण गरेको थियो । जिल्लाका १५ स्थानीय तहले वृक्षरोपण र सरसफाइ कार्यक्रम गरेर वातावरण दिवस मनाएका हुन्। रासस





