Sunday, September 29, 2024

धनगढी विमानस्थलको हवाई उडान अझै एक हप्ता बन्द हुने

धनगढी–धनगढी विमानस्थलको हवाई उडान सुचारु गर्न अझै एक हप्ता लाग्ने भएको छ।

विमानस्थलको स्तरोन्नतिको काम तोकिएको समयमा नसकिएपछि हवाई उडान सुचारु गर्न एक हप्ता लाग्ने विमानस्थल आयोजना प्रमुख रत्नबहादुर श्रेष्ठले बताए।

विमानस्थल स्तरोन्नतिका लागि वैशाख २२ गतेबाट एक महिनाका लागि सबै उडान स्थगित गरिएको थियो। जेठ २१ गतेदेखि पुनः उडान सुचारु गर्न भनिएता पनि धावनमार्ग निर्माणको काम नसकिएकोले अझै एक हप्ता लाग्ने उनले बताए।

समयमा काम सकिएमा जेठ २९ गतेबाट उडान सुचारु हुने उनले बताए।

विमानस्थलको धावनमार्ग र पार्किङ क्षेत्र विस्तार लगायतको कार्य भइरहेकाले एक महिनाका लागि बन्द गरिएको थियो।
विमानस्थलको स्तरोन्नती गर्न लुम्बिनी, कोसी एन्ड न्यौपाने, खड्का, कोइराला जेभी काठमाडौँसँग १७ करोड ८८ लाखमा एक वर्षका लागि ठेक्का सम्झौता भएको थियो।

६० मिटर चौडाइ र एक हजार आठ सय मिटर लम्बाईको कालोपत्रे रनवे रहेको धनगढी विमानस्थलको दुबैतर्फ २ र २ मिटर फराकिलो बनाइने छ। एक हजार आठ सय मिटर लामो र ३० मिटर चौडा धावनमार्गमध्ये ८ सय मिटर धावनमार्ग पूर्णरुपमा भत्काएर पुनः निर्माण गर्न लागिएको हो।

त्यस्तै पार्किङ क्षेत्रमा २ वटा जहाज एक साथ अड्याउने व्यवस्था रहेकामा अब एकसाथ ४ वटा जहाज पार्किङ गर्न सकिने गरी पार्किङ क्षेत्रको विस्तार भइरहेको छ।

धनगढी विमानस्थलमा बुद्ध एयरको दैनिक दुई, श्री एयरको दैनिक दुई, नेपाल एयरलाइन्सको हप्तामा तीन दिन एकरएक उडान हुँदै आएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार