Sunday, September 29, 2024

खान जाने होइन काफल,ऐसेलु र चुत्रो ? (फोटो फिचर)

घाङल(डोटी)  : काफल खान्या कुइया ,मर्यो ला, जुनकीरी शिशाकीगोली ले ।

लाग्दै माया बढ्दै गयो ला जुनकीरी त्यो तीम्रो बोली ले ।

धेरै पटक सुनेको गीत,गीतमा भनिएको काफलको बोट जिन्दगीमा पहिलो पटक आफ्नै आँखाले देख्न, पाकेको काफल टिप्न र खान पाउँदा जुनसुकै व्यक्ति पनि खुसीले बुकुच्ची मार्छन् ।

काफल एक पहाडी भु भागमा पाइने लोकप्रिय जंगली फल हो । यो फल गर्मीयाममा पहाडका वन पाखाहरूमा पाकेको हुन्छ । यसको फलको आकार लाम्चो र गोलो आकारको हुन्छ। यसको स्वाद अमिलो र हल्का गुलियो मिठो हुन्छ। यसकोे रंग काँचोमा हरियो हुन्छ । पाकि सकेपछी रातो र धेरै पाकेपछि बैजनी रंगको हुन्छ ।

प्रदेश नम्बर ७ मा पर्ने डोटी जिल्लाको बडिकेदार गाउँपालिका वडा नम्बर ३ घाङलमा तपाई अहिले (वैशाख देखि जेठ ) सम्म जानुभयो भने आफ्नै हातले काफल टिपेर खान र आफन्तलाई कोशेली पनि ल्याउन सक्नुहुन्छ ।

यो हो ऐसेलु ।

अग्रेंजीमा गोल्डेन हिमालयन र्यापबेरि भनिने ऐसेलु नेपालका पहाडी जिल्लाहरुमा पाईन्छ । तराईबाट पहाड उक्लीनेहरुल् ऐसेलु आफैले सहज रुपमा टिपेर खान सक्ने वातावरण डोटीको घाङलमा पाउन सकिन्छ । ऐसेलु खासमा गुलाफ प्रजातीको एकथरिको वनस्पती हो । ५ देखि ५ मिटर लामो डाँठ हुने यस बुट्यानको उचाई भने १२ फिट सम्म हुनसक्दछ ।

सामान्यतया माघ देखि साउन सम्म ऐसेलु खान पाइन्छ । धेरै चराहरु अनि हात्तिहरुका प्रिय पात अनि फल पनि ऐसेलु हो ।

यो एक प्रकारको पहाडी फल हो। यो फल २ प्रकारको हुन्छ। पहिलो गर्मी याम (वैसाख देखि असार सम्म)मा पाक्ने हुन्छ भने दोस्रो चिसो याम (असोज देखि मंसिर सम्म ) मा पाक्ने गर्दछ । यसको फलको आकार जौको दाना जस्तै अलि ठूलो हुन्छ। यसको पात र हाँगाहरूमा काँडाहरू हुन्छन् । यसको हाँगाहरूमा त्रिशूल जस्तै तिन मुख भएको काँडा हुन्छ यसलाई ठाउँ अनुसार चुत्रो , तिर्षुला अथवा तिर्खुला पनि भनिन्छ ।

चुत्रोको स्वाद अमिला र गुलियो मिसिएको मिठो हुन्छ। यसको फलको रंग काँचोमा हरियो र पाकेपछी कालो हुन्छ । यसलाई नेपालको सुदुर पश्चिम र भारतको कुमाउँ गढवालमा किल्मोडी पनि भनिन्छ। यसको रुखको बोक्रा पहेँलो रंगको हुन्छ। यसको बोक्रा तीतो हुनुको साथै धेरै बिमारीहरूको ओखती पनि हुने अग्रजहरु बताउँछन् ।

यी तिनओटै फल पहाडी क्षेत्रमा पाईन्छन् । ऐसेलु र चुत्रो बुट्यान्मा पर्छ भने काफलको भने रुख हुन्छ । यि तिन ओटै फल वैशाख र जेठमा डोटीको घाङल बस्ती छेउमा अत्यन्तै सहज रुपमा पाउन सकिन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार