Sunday, September 29, 2024

आवास माग्दै वनमन्त्रीलाई भेटे शुक्लाफाँटा निकुञ्जपीडितले

काठमाडौं—कञ्चनपुरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बन्दा घरबारविहीन भएका बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकाका १५ सय घरपरिवारलाई जग्गा सहित आवासको व्यवस्था गर्न माग गरिएको छ।

खानेपानी मन्त्री बिना मगर सहित गएको प्रतिनिधिमण्डलले वन तथा वातावरण शक्ति मन्त्री बस्नेतसँग भेट गरी घरबारविहीन भएका नागरिकलाई उचित व्यवस्थापन गर्नुपर्ने माग राखी ध्यानाकर्षण गराइएको हो । भेटमा खानेपानी मन्त्री मगर सहित बेलौरी नगरपालिकाका मेयर पोतिलाल चौधरी र बेलडाँडी गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा लगायतका टोली सहभागी थियो ।

वन मन्त्री बस्नेतले घरबारविहीन भएका उक्त क्षेत्रका जनतालाई जग्गासहित आवासको व्यवस्थापन चाँडो भन्दा चाँडो गरिने प्रतिबद्धता व्यक्त गरे। आरक्ष पीडित जनताको समस्या समाधान गर्न सरकार गम्भीर रहेको उनको भनाइ थियो ।

निकुञ्जले २०५८ सालमा साविकको रौतेली बिचवा गाउँका बासिन्दाहरुलाई साविकको बेलडाँडी गाविस वडा नम्बर ९ मा ल्याई बसोबास गराएपछि बेलडाँडीका बासिन्दाहरु घरबारविहीन हुन पुगेका थिए । बेलडाँडी र बेलौरीका स्थानीय बासीहरु घरबार विहीन भएपछि बिचल्लीमा परेका थिए ।

अब शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशका लागि पर्यटकलाई सहजता प्रदान गर्न नयाँ प्रवेश द्वार खुल्ने भएको छ । कञ्चनपुरको बेलडाँडीदेखि पर्यटक प्रवेशको लागि नयाँ प्रवेशद्वार खुल्न लागेको हो । उक्त प्रवेश द्वारको उद्घाटन वन तथा वातावरण मन्त्री बस्नेत र खानेपानी मन्त्री बिना मगरबाट गराउने तयारी स्थानीय गाउँपालिका र नगरपालिकाले गर्ने भएको छ ।  नयाँ खुल्ने प्रवेशद्वारसँगै पर्यटकहरुलाई जंगल सफारी गराउनका लागि सहज हुने बेलौरी नगरपालिकाका मेयर चौधरीले बताए।

ताजा समाचार

सम्बन्धित समाचार