
काठमाडौँ – आज विश्व साइकल दिवस । नेपाल लगायत संसारभरि नै विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवस मनाइँदैछ । सन् २०१८ अप्रिल १२ मा बसेको संयुक्त राष्ट्रसंघको ७२ औँ महासभाको बैठकले हरेक जुन ३ लाई विश्व साइकल दिवस मनाउने प्रस्ताव अनुमोदन गरेको थियो ।
साइकल वातावरणलाई असर नगर्ने, सस्तो र चलाउन सहज माध्यमको रूपमा लिइन्छ । वातावरण जोगाउन र यसका नकारात्मक पक्षलाई न्यूनीकरण गर्नका लागि सकेसम्म साइकललाई प्राथमिकता दिन संयुक्त राष्ट्रसंघ लगायत विभिन्न अन्तराष्टिय निकायले आग्रह गरिरहेका छन् । साइकललाई दीर्घकालीन विकासको प्रतीक मानिन्छ, किनभने यसले वातावरण संरक्षणमा टेवा पु¥याउनुका साथै जलवायु परिवर्तनको नकारात्मक असरलाई न्यूनीकरण गर्न पनि सहयोग गर्दछ । विश्व साइकल दिवसको उपलक्ष्यमा हाकाहाकीकर्मी दिपाञ्जली खड्काले सर्वसाधारणसँग साइकलका लागि काठमाडौँका सडक कत्तिको उपयुक्त छन् ? के के कठिनाईहरू छन् ? भनी गरेको कुराकानी जस्ताको तस्तैः

एलि गोयल, स्वयम्भू : काठमाडौँमा साइकल चलाउनु एकदमै राम्रो कुरा हो किनभने यसले विश्व तापमान वृद्घि, ट्राफिक जाम र प्रदूषण रोक्नमा मद्दत पु¥याउँछ । यति मात्र होइन साइकलले पेट्रोल खर्चसमेत बचत गर्छ ।

रत्न निरौला, उदयपुर : साइकलले वातावरण स्वच्छ राख्ने काम मात्र गर्दैन, यसले मानिसलाई शारीरिकरूपले स्फूर्त बनाउँछ । तराईको तुलनामा काठमाडाँैमा चलाउन अप्ठेरो भए पनि यो चलन सके धेरै राम्रो हुन्छ ।

राधिका बस्नेत, काठमाडौँ : साइकल चलाउनका लागि छुट्टै लेन छैन, जसका कारण दुर्घटना हुने सम्भावना बढी छ । त्यसैले मलाई लाग्छ काठमाडौँमा साइकल चलाउन असुरक्षित छ ।

रवि झा, काठमाडौँ : साइकल चलाउने हो, भने स्वास्थ्य र वातावरण दुवैलाई फाइदा हुन्छ तर जबसम्म सरकारले साइकल यात्रीका लागि बाटो अलग बनाउँदैन त्यस बेलासम्म साइकल चलाउन असम्भव र असुरक्षित छ ।





