
पाँचथर – जिल्लामा पहिलो पटक हावाबाट २० किलोवाट विद्युत उत्पादन सुरु गरिएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा न २ सराङ्डाडाको सप्तमी बजार नजिकै रहेको डाडामा दुई वटा पङ्खा जडान गरेर २० किलोवाट क्षमताको वायु ऊर्जा उत्पादन सुरु गरिएको टपसन कृष्ण ग्रीलजेभी कम्पनीका प्राविधिक सुशील शर्मा बताउँछन् ।
सप्तमी बजारका लागि निर्माण गरिएको सो वायु ऊर्जासँगै ५० वाट क्षमताको सौर्य ऊर्जासमेत जडान गरिएको अर्का प्राविधिक बुद्धिराम चौधरीले बताए । बजारका एक सय १० घर परिवार र एक चिया कारखानालाई विद्युत सेवा पु¥याउने उद्देश्यले स्थापना गरिएको सो विद्युतीय परियोजना सम्पन्न गर्न चार करोड ४९ लाख पाँच सय ३५ रुपैयाँ खर्च भएको विद्युत उपभोक्ता समितिका अध्यक्ष गंगाप्रसाद आङ्देम्बेले जानकारी दिए ।
नेपाल सरकार र एसियाली विकास बैंकको आर्थिक सहयोगमा सम्पन्न सौर्य, वायु ऊर्जा मिनी ग्रीड परियोजनाले सप्तमीबासीहरू लाभान्वित भएको उपभोक्ता महेन्द्र थापा बताउँछन् । यो मिनी ग्रीड जोडिएपछि केन्द्रीय प्रसारण लाइन पनि जोडियो तर केन्द्रीय प्रसारण लाइनको विद्युत बेला बेलामा अवरोध भइरहन्छ त्यस्तो अवस्थामा यो सेवा प्रभावकारी भएकाले उपभोक्ताहरू दङ्ग छन्, थापाले बताए ।
केही समयअघिसम्म यहाँ विद्युत सेवाको कुनै स्रोत थिएन केही परिवारको सोलार थियो, त्यसमा पनि चिसो ठाउँका कारण समस्या आइरहन्थ्यो । ‘बजार छेउको डाडामा जहिले हावा चलिरहने हुनाले त्यस ठाउँमा परीक्षण गरियो । दुई वर्षको परीक्षणपछि पाँचथरमै पहिलो पटक हावादेखि विद्युत उत्पादन गर्ने कार्यको सुरु भयो’ मिक्लाजुङ २ का वडा अध्यक्ष सन्तोष शेर्माले बताए ।
‘वायु, सौर्य ऊर्जा मिनी ग्रीडको विद्युत सेवा बजारमा वितरण गरेपछि एक सय १० घर परिवारले २४ सै घण्टा विद्युत सेवा पाएका छन् केन्द्रीय प्रसारण लाइनको विद्युत सेवा अवरुद्घ भएको बेला स्थानीय उत्पादनले धान्ने हुनाले बजारबासी अध्याँरोमुक्त भएका छन्,’ स्थानीय युवा दिपक बोहोरा भन्छन् । सो ठाउँको परियोजना सफल भएपछि त्यहाँभन्दा तीन सय मिटर माथिको डाडाबाट पनि त्यसै प्रकारको वायु ऊर्जा उत्पादन गर्नका लागि परीक्षण सुरु गरिएको छ । त्यो ठाउँमा अझ बढी हावा चल्ने हुनाले यहाँभन्दा बढी विद्युत उत्पादन हुने प्राविधिक शर्मा बताउँछन् । पानी, घामबाट भन्दा हावाबाट निकालिएको विद्युत लागतको हिसाबले सस्तो पर्ने हुनाले यो प्रविधि हाम्रा लागि सुलभ रहेको प्राविधिक शर्माले बताए।





