मेलम्चीको पानी आउन अझै डेढ वर्ष लाग्ने

काठमाडौँ- लामो समयदेखि अन्योलमा रहेको मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई अगाडि बढाउने प्रक्रिया शुरु भएको छ । बाँकी कार्य सम्पन्न गर्नका लागि २ वटा प्याकेजमा खुला बोलपत्र माग गरिएको छ । अहिलेको भईरहेको प्रक्रिया सहज रुपमा अगाडि बढेमा अबको डेढ वर्षमा मेलम्चीको पानी काठमाडौँबासीले उपभोग गर्न पाउने छन् ।

अन्य ८ वटा प्याकेज भने स्थानीय ठेकेदारलाई नै दिने तयारी सरकारको छ । यद्यपी स्थानीय ठेकेदारले भने आफूले पाउनुपर्ने पुरानो रकम नपाएको गुनासो गरिरहेका छन्, उनीहरू यतिवेला आन्दोलनमा छन् । आयोजनाको बाँकी कामलाई १० प्याकेजमा विभाजित गरेर ठेकदार खोज्ने प्रक्रिया अगाडि बढेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । लामो समयको अन्योलपछि दुई साता अघि मन्त्रीपरिषदले यसलाई अगाडि बढाउने निर्णय गरेको थियो । यो सबै काम सम्पन्न गर्नका लागि २ अर्ब ५३ करोड खर्च हुने अनुमान गरिएको छ । सरकारले वजेटमा मेलम्चीका लागि ७ अर्ब ३९ करोड वजेट विनियोजन गरेको छ ।

हाल सुरुङ र हेडवर्क्सका कामका लागि फरक–फरक ठेकेदार छनोटको लागि गृहकार्य भईरहेको छ । हाईड्रो–इलेक्ट्रो मेकानिकल र केही आपूर्तिसम्बद्ध ८ वटा ठेक्का भने त्यहाँ कार्यरत पुरानै कम्पनीले बिना प्रतिस्पर्धा पाउने भएका छन् । हेडवर्क्सको काम १५ महिनामा र सुरुङको काम १२ महिनामा सक्नेगरी टेन्डर आह्वानको तयारी छ । यसको अर्थ हो यदि अहिलेको गतिमा निरन्तर रुपमा काम भएमा डेढ वर्षमा मेलम्चीको पानी काठमाडौँ आइपुग्ने छ तर यकिन भने छैन।

ताजा समाचार

सम्बन्धित समाचार